

अत्तरिया- कैलाली प्रहरीले चार ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हिरोइन सहित पाँच जनालाई पक्राउ गरेको छ ।


लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटेको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका–२ बौनियाँका ४० वर्षीय रामबहादुर चौधरीको घरको कोठाबाट उनीहरूलाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा चौधरीसहित सोही ठाउँका २९ वर्षीय राधेश्याम डङ्गौरा, २६ वर्षीय रतिराम डङ्गौरा, वडा नम्बर ३ रानीकुण्डाका २४ वर्षीय ज्ञानेन्द्र वि.क. र लम्कीचुहा नगरपालिका–८ का ३० वर्षीय जनक बडुवाल छन् ।
कोठामा खानतलासी गर्दा लागूऔषध सहित डिजिटल तराजु एक थान, कैंची र नगद सात हजार ५५० रुपियाँ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिए ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय सुखड्को हिरासत कक्षमा राखेर थप अनुसन्धानको काम भइरहेको जनाइएको छ ।