धनगढी- पतिपत्नी मिलेर सुन्दर जीवन जिउने सपना बुनेकी धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्काकी २५ वर्षीय डम्मरा शाहका दुवै हात काटिएपछि घर चलाउन सकस भएको छ । आर्थिक अवस्था कमजोर भएकाले घरखर्च चलाउन डेढ वर्ष अघि उनले पतिलाई भारतको मुम्बई पठाएर आफू गोदावरीको गेटा स्थित सुरत गुड मिलमा काम गर्न सुरु गरिन ।
मिलमा उखुका आँख्ला पेल्दापेल्दै दुई वर्ष अघि माघ २३ गते मेसिनले उनले लगाएको कुर्ता च्याप्यो । कुर्ता तान्दै गर्दा उनका दुवै हात मेसिन भित्र छिरे । उखु पेल्ने मेसिनले कुहिना तलका दुवै हात पेलिए पछि डम्मरा बेहोस भएन । मिलमा काम गर्ने कर्मचारीले उद्धार गरेर उनलाई धनगढी स्थित सेती अस्पताल पुर्याए पनि अस्पतालले काठमाडौँ प्रेषण गर्यो ।
काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा पेलिएका दुवै हात काटेर उपचार गरियो । घटनाको डेढ वर्षपछि उनी उपचारपछि धनगढी फर्किन । “घटनाकै दिन उपचारका लागि काठमाडौँ गएकी थिएँ, डेढ वर्ष पछि अस्ती मात्रै फर्किएँ,” डम्मराले भनिन, “काम गर्ने दुवै हात गुमेपछि अब जिन्दगी कसरी गुजार्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।” काम गरेर खुसीसाथ जिन्दगी बिताउने सपना सपनामै बिलाएको बताउँदै उनले भनिन, “हात गुमेपछि जिन्दगी नै गुमेको महसुस भएको छ ।”
मिलमा ज्यालादारी गरेबापत दैनिक चार सय पचास रुपियाँ पाउने गरेको बताउँदै उनले भनिन, “त्यही रुपियाँ कमाउन जाँदा जिन्दगी नै गुम्यो ।” ऐलानी जमिनमा एउटा सानो झुप्रो बाहेक सम्पत्तिको नाममा दुई हात मात्रै रहेको बताउँदै उनले भनिन, “दुवै हात गुमेपछि भने अब के गरेर खाने भन्ने चिन्ताले सताएको छ ।”
मनभरिको भारी बिसाएझैँ उनकै छेउमा रहेका पति धन बहादुर शाहले थपे, “दुवै हात नभएकी पत्नीलाई छोडेर कतै कमाउन जाउँ भन्दा पनि जान सकिरहेको छैन, अब के गरी गुजारा गर्ने होला ?” उपचारका लागि मिलले सहयोग गरे पनि अब गुजारा चलाउनका लागि केही सिप या रोजगारीको व्यवस्था सरकारले मिलाइदिनु पर्ने बताउँदै उनले भने, “दुवै हात गुमेकी पत्नीले केही गर्न सक्दिनन्, अब उनकै नजिक रहेर कुनै इलम गर्ने मौका कसैले दिएमा गुजारा चलाउँथेँ ।”
मिल सञ्चालक सुरत खड्काले अब आफूहरूले केही गर्न नसक्ने बताए । उनले भने, “उनको उपचारका लागि लागेको सबै पैसा तिरेँ, अब म पनि केही गर्न सक्ने अवस्थामा छैन ।” डम्मराको अवस्थाबारे थाहा पाएपछि गत शनिबार मात्रै धनगढीस्थित रामजानकी मन्दिर पतञ्जली योग केन्द्रद्वारा ३० हजार १३१ रुपियाँ सहयोग गरेको छ ।