बाजुरा- जिल्लाका ६९ मध्ये १२ वटा वडामा मात्र विद्युत् सेवा पुगेको छ । विद्युत् प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडा मध्ये साविकका चार गाउँ विकास समिति र हालका १२ वडामा मात्र विद्युत् सेवा विस्तार गरेको हो ।
जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह छन् । तीन पालिकाका ६९ वडा मध्ये १२ वडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएको छ।
सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिका–६ वडा, बुढीगङ्गामा तीन वडा र खप्तड छेडेदह गाउँपालिकाका तीन वडामा मात्र विद्युत् सेवा विस्तार भएको प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले बताए ।
सूचना अधिकारी भट्टका अनुसार बूढीगङ्गा नगरपालिका–१, २ र ३, बडिमालिका नगरपालिका–१, २, ३, ७, ८ र ९ मा मात्र लाइन विस्तार गरी सेवा प्रवाह भइरहेको छ ।
त्यसैगरी खप्तड छेडेदह गाउँपालिका–५ र ७ पूरै तथा वडा नं ६ का ५५ परिवारलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बडिमालिका नगरपालिका साविकका मार्तडी र जुगाडा, बुढीगंगा नगरपालिकाको साविक ब्रह्मतोला गाविस र खप्तड छेडेदह गाउँपालिकाको साविक आटिचौर र डोगडीमा मात्र राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गरिएको छ । जिल्लामा राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही चार हजार चार सय ८३ ग्राहक रहेको तथ्याङ्क छ । सबै भन्दा कम ३३.५१ प्रतिशत विद्युतीकरण भएको राष्ट्रिय तथ्याङ्कमा उल्लेख छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार बाजुरामा एक लाख ३८ हजार ९९८ जनसङ्ख्या छ । जिल्लामा २२ हजार ९२१ परिवार विद्युतको पहुँचमा रहेको जनाएको छ ।
त्यसैगरी चार हजार ३४२ परिवारले सौर्य ऊर्जा तथा सोलार र ६७ परिवारले मट्टितेल प्रयोग गर्ने गरेको जनगणनाको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार बिजुलीबाट खाना पकाउने १८ परिवार मात्र छ । २५ हजार ७५१ परिवार अझै दाउरा प्रयोग गरिरहेका छन् भने दुई हजार परिवारले एलपिजी ग्यासबाट खाना पकाउने गरेको जनगणना २०७८ को तथ्याङ्कमा उल्लेख छ । रासस