धनगढी गाईजात्रा हुने

धनगढी । कैलालीमा धनगढी गाईजात्रा–२०८१ हुने भएको छ । शिखर आर्टसको आयोजनामा धनगढी गाईजात्रा हुन लागेको हो ।
आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै भोलि हुने गाईजात्राको तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै शिखर आर्टसका प्रवन्ध निर्देशक राजकुमार जोशीले गाईजात्रा धनगढीको एसटीएस सिनेमा हलमा भोलि साँझ ५ बजेदेखि ८ बजेसम्म प्रदर्शन हुने बताए । कार्यक्रममा प्रदेशमा रहेका सरकारका विशिष्ट व्यक्तित्व,स्थानीय तहका जनप्रतिनिधि,कर्मचारीलगायत सर्वसाधारणको उपस्थिति रहने उनले बताए ।

पत्रकार सम्मेलनमा कलाकार सरस्वती भट्टले सुदूरपश्चिममा गाईजात्राको प्रचलन नभएका कारण गाईजात्रा गर्न खोजेका बताइन् । उनले भनिन् ‘हामीले यो सरकारलाई बुझाउन सकेका छैनौँ । सरकारसम्म यो कार्यक्रम पुर्याउनु पर्छ भनेर गाईजात्रा गर्न लागेका हौँ ।’

गाईजात्राको उदेश्य स्थानीय कलाकारलाई प्रबद्र्धन गर्ने समेत रहेको उनले बताइन् । उनले भनिन् ‘अभिनय गर्ने मान्छे यहाँ विस्थापित हुँदै गएका छन् । उहाँहरुको पनि प्रवद्र्धन होस् भन्ने हाम्रो उदेश्य हो ।’ सुदूरपश्चिममा महिलालाई कलाकारितामा आउन गाह्रो हुने गरेको उनको भनाइ थियो ।

गाईजात्रामा सुदूरपश्चिमका सबै भेषभूषालाई समेटेर,यहाँको विकृति विसंगति,राजनितिक व्यंग्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । यहाँको भाषालाई उजार गर्न विभिन्न ठाउँका भाषालाई प्रहसनको माध्यमबाट प्रस्तुत गरिने जनाइएको छ ।

यहाँको कला संस्कृति सबैमा चिनाउनका लागि गाईजात्रा गर्न लागिएको जनाइएको छ । कार्यक्रममा ‘सामाजिक सञ्जालले बेहाल’,‘रानीतिक प्रहसन’,‘कमिसनको जालो’ भन्ने शिर्षकमा समाजमा भएका विकराल समस्याका बारेमा पनि प्रहसन बनाइएको जनाइएको छ । गाईजात्रामा प्रवेश शुल्क ५ सय रहेको आयोजकले जनाएको छ ।

Loading...