धनगढी- नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताएकी छन् । गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी मन्त्री राणाले गौराको पूजाअर्चनापछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो कुरा बताएकी हुन् । उनले गौरा पर्वलाई समृद्धिको पर्वको रुपमा समेत रहेको बताईन् ।
हरेक वर्ष गौरा पर्व मनाउन मन्त्री राणा धनगढीस्थित घरमा आउने गरेको बताउदै उनले भनिन् ,‘‘धनगढी घरमा हाममी हरेक वर्ष गौराको पूजा अर्चना गर्दै आएका छौँ । यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएको छु ।’ शनिबारदेखि आफूले गौराको ब्रत बसेको बताउदै उनले कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जन गर्न धनगढी पुगेको बताए । गौराले समाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको समेत मन्त्री राणाले बताए ।
मन्त्री राणालाई बुधबार बिहान धनगढी विमानस्थलमा कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए । स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह लगायत आर्थिक मामिला मन्त्री बहादुर सिह थापा, सामाजिक बिकास मन्त्री मेघराज खड्का, सामाजिक बिकास राज्यमन्त्री सरस्वती खड्का उपस्थिति रहेको थियो ।
मन्त्री राणाले घरमा पुग्ने वित्तिकै गौरादेवीको दर्शन गर्नुका साथै पूजाअर्चना समेत गरेकी छन्। उनी निवासमा पुगेपछि कार्यकर्ता तथा समर्थकहरुले डेउडा खेल्नुका साथै तथा अठवाली गाएका थिए । मन्त्री राणा दुई दिन धनगढीका विभिन्न कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ ।