अत्तरिया- पत्रकार माथि ज्यादती गर्ने ट्राफिक प्रहरीलाई कार्वाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलालीले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै पत्र लेखेको छ ।
नेपाल पत्रकार महासंघका कैलाली शाखाका अध्यक्ष हिमालय जोशीको हस्ताक्षरित पत्रमा सामान्य कुरामा व्यक्तिगत रिसिवीको बदला लिने तरिकाले पत्रकार रमेश अयडी माथि हतकडी लगाएर हिरासतमा राखेको घटना प्रति पत्रकार महासंघ कैलालीको घोर आपत्ति रहेको बारे पत्र मार्फत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
ज्यादती गर्ने ट्राफिक प्रहरीलाई कार्वाही गरियोस भनि पत्रकारको टोलीले आज बिहान जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीसँग कुरा गरेका थिए । पछिल्लो समयमा ट्राफिक प्रहरीले आफुसँग नभएको अधिकारको प्रयोग गरी पत्रकार लगायत अन्य सर्वसाधारणलाई समेत दुख दिई रहेको अवस्थाप्रति प्रमुख जिल्ला अधिकारीलाई सजग गराएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले बताए ।
शुक्रवार साँझ करिब ९ बजेको समयमा धनगढीका पत्रकार रमेश अयडी माथि ट्राफिक प्रहरीले ज्यादती गरेको हो । ब्लुबुक, लाइसेन्स र मापसे गरेको जाँच गर्न बसेका ट्राफिक प्रहरी हवलदार विजय बमले अयडी सहित अर्का एक जना युवकलाई दुर्व्यवहार गर्दै हतकडी लगाएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाएका हुन् ।
केही महिना अगाडि फूलबारी क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार बमलाई ट्राफिक नियमन राम्रोसँग गर्न पत्रकार अयडीले अनुरोध गरेका थिए । सोही विषयलाई इगोको रूपमा लिएका ट्राफिक प्रहरी बमले शुक्रवार साँझ कागजपत्र नभएको निहुँमा हतकडी लगाएर जिल्ला प्रहरीको हिरासतमा पठाएका हुन् ।
ट्राफिक प्रहरीले कुनै त्रुटि फेला पारे या कागजपत्र नबोकेको फेला पारे जरिवाना काट्ने र चालकले मदिरा सेवन गरेको अवस्थामा सवारी नियन्त्रण लिन सक्छन् । तर ट्राफिक प्रहरी हवलदार बमले लाइसेन्स र ब्लुबुक नबोकेको भन्दै अयडीलाई हतकडी लगाएर प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरीको हिरासतमा पठाएको पीडित पत्रकार अयडीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख गङ्गा बहादुर सारुले घटनाको बारेमा सेट मार्फत जानकारी पाएको बताए । उनले आफूले जिल्ला प्रहरीको टिम आइसकेपछि मात्रै थाहा पाएको बताए । उनले भने, ‘अर्को एक जनासँग ट्राफिकको लफडा भएछ, त्यहीँ घटनामा उहाँ (रमेश अयडी) पनि पर्नु भएछ ।
स्वास्थ्य परीक्षण गर्दा उहाँ (अयडी) ले मापसे नगरेको देखियो आज दुबै पक्षलाई बोलाएर छलफल गरे, हाम्रो साथीबाट गल्ती भएको हो ।’ ट्राफिक प्रहारी प्रमुख सारूले ट्राफिक हवलदार बमको पत्रकार अयडीसँग कुनै रिसिइबी नभएको दाबी समेत गरे ।