धनगढी- भाद्र ४ र ६ गतेको अविरल वर्षाले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा बाढी तथा डुबान भएपछि कैलारी गाउँपालिका र भजनी नगरपालिका सँगको समन्वयमा बहुउद्देश्यीय विकास समाज, डडेल्धुराले तत्काल बाढी प्रभावित बस्तीहरूमा गई बाढी तथा डुबानमा फसेका र समस्यामा परेका ब्यक्तिहरूको तत्काल उद्घार र सुरक्षा कार्यमा सहयोग गरेको छ ।




त्यसैबिच बहुउद्देश्यीय विकास समाज डडेल्धुराले कैलारी र भजनीका बाढी तथा डुबानबाट अत्यन्तै प्रभावित क्षेत्र तथा बस्तीहरूको अनुगमन गरेको छ ।





कैलारी गाउँपालिका र भजनी नगरपालिकाको समन्वय, किया र कोडेडको सहयोगमा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिममा बाढी र पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत उक्त अनुगमन गरिएको संस्थाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले जानकारी दिनुभयो ।


उहाँले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा बाढी तथा डुबानले स्थानीयवासीहरू अत्यन्तै त्रसित र खान बस्नको समस्याको साथै संकटासन्न अवस्थामा रहेको बताउनु भयो । उहाँले भन्नुभयो “बाढी तथा डुबानले सबै भन्दा दलित बस्ती, मुक्त कमैया शिबिर, सिमान्तकृत समुदायका महिला बालबालिका, अपंगता भएका ब्यक्तिहरु, जेष्ठ नागरिक बढी समस्यामा रहेको बताउनु भयो ।
“उनीहरूलाई तत्काल राहत र काउन्सिलिङको आवश्यकता छ ।” अनुगमनमा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, वडा अध्यक्षहरु, अन्य जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, भलबन्सा, स्थानीय टास्कफोर्स, बिपद व्यवस्थापन समिति, बिपद फोकल पर्सन, रेडक्रस, प्रहरी प्रशासन लगायतको सहभागिता रहेको थियो ।
बाढीले गाउँपालिका पुरै जलमग्न भई नागरिकहरू समस्यामा परे पछि भाद्र ६ गते स्थानीय विपद व्यवस्थापन समितिको आपतकालीन बैठक बस्यो, बैठकमा जनप्रतिनिधि ,राजनैतिक दल र बहुउद्देश्यीय विकास समाज डडेल्धुराको पनि प्रतिनिधित्व रहेको थियो । बैठकमा बिपद्को बेला स्थानीय, प्रदेश र केन्द्र सरकार र नागरिक संघसंस्थाको समन्वय सहयोग र सहकार्यका लागि तत्काल अनुरोध गर्ने निर्णय गरियो ।
त्यसै बिच कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले ४ देखि ६ गते सम्मको अबिर वर्षाले पालिका भरी स्थानीयवासीहरू बाढी तथ डुबानको चपेटामा परी समस्या ग्रस्त अवस्थामा रहेको भन्दै विभिन्न सरकारी एंव गैरसरकारी संघसंस्थालाई आवश्यक सहयोग, राहत र सहकार्यका लागि अपिल गरेका छन् ।
३ दिनको अविरल वर्षाले कैलारी गाउँपालिकामा मात्रै ५४७ जना पूर्ण प्रभावित, १७४ जना बिस्थापित र २१९ जनाको घरमा क्षती भएको पालिकाले जनाएको छ ।




