धनगढी उपमहानगरले गर्‍यो आचार्य कृष्ण बहादुरलाई नगदसहित सम्मान

धनगढी‍- कैलालीको धनगढी उपमहानगरपालिकाले संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) गरेका कृष्ण बहादुर दमाईलाई सम्मान गरेको छ । कृष्ण बहादुरले दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य उपाधि लिएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३, तिलकपुरका कृष्ण बहादुरले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन् । दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य गरेको भन्दै कृष्ण बहादुरलाई धनगढी उपमहानगरपालिकाले नेपालमा भएका ७५३ स्थानीय तह मध्ये सबै भन्दा पहिले नगद सहित सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

धनगढी उपमहानगरपालिकाले शनिबार नगरसभाको हलमा एक कार्यक्रमका बीच आचार्य कृष्ण बहादुरलाई नगद १ लाख ५१ हजार सहित सम्मान तथा बधाई ज्ञापन गरेको हो । यस अघि पशुपतिनाथ मन्दिर परिसरको वनकालीमा आयोजित कोटीहोममा प्रवचन गरेका कृष्ण बहादुरलाई आयोजकले स्वागत तथा अभिनन्दन गरेको थियो ।

Dadeldhura hospital

सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफू पहिला देखि नै समाजमा विभेद हटाउने अभियानमा लागेको बताउँदै अझै जातिय छुवाछुत रहेको हाम्रो समाजलाई प्रेरणा दिन आचार्य कृष्ण बहादुर दमाईलाई नगद सहित सम्मान गरेको बताए ।

नगरप्रमुख हमालले जातले कोही सानो ठूलो हुँदैन, सबै भन्दा ज्ञान नै ठूलो हो । कृष्ण बहादुरले दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य गरेर समाजका लागि ठूलो प्रेरणा दिएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै कृष्ण बहादुरले आफू शुद्र कुलमा जन्मिए पनि आचार्य हुन सफल भएको बताए । उनले दलितहरूलाई वेद–पुराण अध्ययन गर्न निषेध गरिएको सामाजिक अवस्थालाई चुनौती दिँदै सनातन हिन्दु संस्कार जोगाउन आफू आचार्य बनेको बताए ।

‘देशमा धार्मिक विध्वंस मच्चाएर एक–अर्कालाई फुटाउँदै सनातनलाई सिध्याउने षड्यन्त्र भइरहेको छ,’ सम्मान कार्यक्रममा उनले भने– ‘हिन्दु संस्कार र संस्कृत बचाउ अभियानमा जुट्नु सबैलाई अनुरोध छ । संस्कृतलाई कर्मकाण्डी भाषाका रुपमा मात्रै लिनु अज्ञानता हो ।’ आचार्य कृष्णबहादुरलाई बाजागाजासहित नगरप्रमुख हमाल तथा कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरू लगायतले भव्य स्वागत गरेका थिए ।

आर्थिक अभाव खेपिरहेका आचार्य कृष्ण बहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले जागिर दिने घोषणा गरेको छ । नगरप्रमुख हमालले कृष्ण बहादुरले जागिर पाए जीवनयापन गर्न सहज हुने बताएकाले काम दिने बताएका हुन् । नगरप्रमुख हमालले शिल्पी समुदायबाट आचार्य उपाधि हासिल गरेका कृष्ण बहादुरलाई आर्थिक समस्या भएको थाहा पाएर सम्मान सहित नगद सहयोग गरिएको बताए ।

नगरप्रमुख हमालले आचार्य कृष्ण बहादुरलाई चाहेको वेला धनगढी उपमहानगरले योग्यता अनुसारको जागिर दिने र उनलाई अभियन्ताका रूपमा समाज परिवर्तनमा सक्रिय गराउने घोषणा गर्दै काम चाहेको बखत उपमहानगरपालिकामा जागिर गर्न आउन आग्रह गरे ।

Loading...