कञ्चनपुर- असार तेस्रो साताको बाढीबाट जिल्लामा १ अर्ब ५० करोड रुपैयाँको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो ।
“बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरूलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ । जिल्लाभर १ अर्ब ५७ करोड १० लाख २१ हजार ४ सय २९ मूल्य बराबरको क्षति भएको छ”, निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भने ।

कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार ५ सय ४६ रुपैयाँ बराबरको क्षति भएको छ भने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा २ करोड ३२ लाख ५२ हजार ९ सय, सडक डिभिजन कार्यालयमा ३ करोड ८८ लाख ७० हजार रुपैयाँ, पूर्वाधार विकास कार्यालयतर्फ ७ करोड १९ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा र २२ लाख, जनताको तटबन्ध कार्यालयको ४७ करोड ४२ लाख ८३ हजार ९ सय ८३ रुपैयाँ, घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार रुपैयाँ, कृषि ज्ञान केन्द्रको ६५ करोड ४० लाख ८३ हजार ५ सय ४६ रुपैयाँ र पशुधनमा १ करोड २३ लाख ९१ हजार रुपैयाँ गरी जम्मा १ अर्ब ६७ करोड १० लाख २१ हजार ४ सय २९ रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण कञ्चनपुरमा चार जनाको मृत्यु भएको थियो ।
असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस अघि देशमा त्यति धेरै पानी कहिल्यै परेको थिएन । भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’ का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो । रासस
