कञ्चनपुरमा चोरी तस्करी रोक्न सशस्त्र प्रहरीको भूमिका प्रभावकारी बन्दै, ५ करोडको अवैध सामान बरामद
कञ्चनपुर- कञ्चनपुरमा चोरी तस्करी रोक्न सशस्त्र प्रहरीको भूमिका प्रभावकारी बन्दै गएको छ । जिल्लाको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले भन्सार राजस्व चोरी, मानव तस्कर, लागूऔषध ओसारपसारका गैरकानुनी गतिविधि नियन्त्रण र सामान बरामद गर्दै आएको छ ।
सशस्त्र प्रहरीले अवैध सामान भन्सार चलान र लागूऔषध तस्कर, मानव तस्कर प्रहरीमा चलान गर्न सक्रिय देखिएको छ । पछिल्ला चार वर्षमा सशस्त्र प्रहरीले राजस्व संकलनमा उल्लेख्य प्रगति हासिल गरेको छ ।

कञ्चनपुर स्थिति सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर गण शैलेश्वरीको तथ्यांक अनुसार पछिल्ला चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबै भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा चार करोड ७६ लाख ७९ हजार मूल्यको अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा चार करोड १३ लाख, ३२ हजार ९९०, आर्थिक वर्ष २०७८/०७९ मा दुई करोड ७० लाख, ११ हजार ७८५, आर्थिक वर्ष २०७९/०८० मा तीन करोड २३ लाख १५ हजार ५७७ मूल्यको अवैध सामान बरामद गरेर भन्सार चलान गरिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले भन्सार चोरी तस्करी विरुद्धमा शून्य सहनशीलता नीति अनुरूप काम भइरहको बताए ।
गत आर्थिक वर्षमा चोरी तस्करीमा संलग्न एक टिपर, एक बोलेरो र ८० मोटरसाइकलसमेत बरामद गरिएको उनले बताए । सशस्त्र प्रहरीले कञ्चनपुरमा लागूऔषध एवं मानव तस्करसमेत पक्राउ गरेको छ । लागूऔषध सहित २१ र मानव ओसारपसारमा संलग्न २० महिला र १७ पुरुष गरी ३७ जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ ।
