एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको छ । त्यस मध्ये इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी तनहुँमा छन् ।


सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित फेला परेका हुन् ।

त्यस्तै, कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकानपुरमा ९०, गोरखामा ८५ जना डेंगु संक्रमित भेटिएका छन्।
पछिल्ला दिनमा गण्डकीमा प्रदेशका जिल्लामा डेंगु फैलिने क्रम बिस्तारै बढ्दै छ । अब मनसुन बिस्तारै रोकिँदै गएसँगै डेंगुका बिरामी बढ्न सक्ने इडीसीडीका अधिकारी बताउँछन् । अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।
