अत्तरिया- नेकपा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले नेताहरूका बीचमा अविश्वास बढाएर द्वन्द्व फैलाउन खोज्नेहरुसँग कार्यकर्ताले सर्तक हुनुपर्ने बताएका छन् ।
नेकपा (एमाले) बेल्डाँडी गाउँ कमिटीको प्रथम पूर्ण भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रावलले नेताहरुलाई आपसमा भिडाएर फाइदा लिन खोज्नेहरुलाई पछिल्ला गतिविधि मार्फत जवाफ दिइसकेको पनि बताए ।

‘राजेन्द्र रावल र निरु पाललाई झगडिया देखाएर आफ्नो स्वार्थको रोटि सेक्न खोज्नेहरुलाई हामीले जवाफ दिइसकेका छौँ,’ उनले भने । पार्टीको जिल्ला र नगर अधिवेशनहरू सर्वसम्मत ढंगले गर्न सफल भएको उनले बताए ।
‘कञ्चनपुरमा सर्वसम्मत सम्भव नै छैन भनेर जिस्काउथे,’ अर्का पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु पाल तर्फ हेर्दै रावलले भने, ‘हामीले जवाफ दियौँ, इतिहास निर्माण गर्यौं ।’ कार्यक्रममा पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज पाल, केन्द्रीय सदस्यद्वय इन्दु कडरिया र कमला बोहरा, जिल्ला अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लव राज भट्ट, उपसचिवद्वय अशोक चन्द र राजिब खड्का लगायत नेताहरूको उपस्थिति रहेको थियो । त्यस अघि कृष्णपुर नगर कमिटीको भेला समेत सम्पन्न गरिएको जिल्ला कमिटीले जनाएको छ ।
