डडेल्धुरा- डडेल्धुराका एक जनाको भारतमा निधन भएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ टाँटरका ५३ वर्षीय प्रमोद जोशीको भारतको सिक्किममा मृत्यु भएको हो ।
इञ्जिनियर समेत रहेका जोशीले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणको काम गरेका थिए । त्यस्तै गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए ।
उनी विद्यावारिधि गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका थिए । जोशीको ह्रदयघातका कारण मृत्यु भएको अमरगढी नगरपालिका–८ का वडा अध्यक्ष नर बहादुर साँकीले बताए । उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको बताइएको छ ।