धनगढी नगर क्षेत्रको भित्री सडकको अवस्था दयनीय

धनगढी- धनगढी बजारको मुख्य सडक झिलिमिली बत्तीले सिँगारिएको भए पनि भित्री सडकको अवस्था भने दयनीय रहेको छ । सडक बिग्रेको कैयौँ वर्षसम्म निर्माण वा मर्मत सम्भारको काम नभएपछि धनगढी नगर क्षेत्रको भित्री सडकको अवस्था दयनीय बनेको हो ।

यस्तै सडक मध्येको एक ज्वलन्त उदाहरण हो, धनगढी गाउँ–घुइयाँघाट सडक, स्थानीय तहको निर्वाचनमा उम्मेदवारका लागि चुनावी मसला समेत बनेको सी गाउँ सम्म जोड्ने यो सडक जीर्ण बनेको छ । सडक भत्केर हिँड्नसमेत अप्ठ्यारो हुने अवस्थामा पुग्दासम्म निर्माण वा मर्मतको कार्य भएको छैन ।

Dadeldhura hospital

सडक थोत्रो भइसक्दासम्म निर्माण नहुनु दुर्भाग्य रहेको स्थानीयको भनाइ छ । यो सडक धनगढीमा सबैभन्दा बिग्रेको सडक रहेको स्थानीय भावनाथ चौधरीले बताए । “सडकमा पानी जमेर हिँडडुलमै समस्या हुने गर्दछ,” उनले भने, “पानी जम्ने ठाउँमा वडा कार्यालय वा उपमहानगरपालिकाको कार्यालयले ग्राभेल हालेर केही सहज बनाइदिनुपर्नेमा त्यो पनि भएको छैन ।”

सडकको दयनीय अवस्था देख्दादेख्दै पनि जनप्रतिनिधिले केही कदम अगाडि नबढाउनु लाजमर्दो रहेको स्थानीयको भनाइ छ । उनीहरूले धनगढी उपमहानगरपालिकाको ध्यान बजार क्षेत्रमा मात्रै रहेको आरोप लगाएका छन् । “यो सडकलाई जनप्रतिनिधिले देखेकै छैनन्,” कटाक्ष गर्दै स्थानीय धनीराम रानाले भने, “हामीले जे जति गरे पनि केही हुने होइन ।

जनप्रतिनिधिको ध्यान बजार क्षेत्रमा मात्रै छ ।” धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरीले करिब नौ सय मिटर सडकको ठेक्का भइसकेको जानकारी दिए । वडा नम्बर ८, १० र १२ सम्म निर्माण गर्न आवश्यक रहेको यो सडकको काम क्रमागत रूपमा हुने वडाध्यक्ष चौधरीको भनाइ छ ।

Loading...