धनगढी- सुदूरपश्चिममा कर सङ्कलन सम्बन्धी अध्यादेश पारित भएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्ले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको हो । आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश पास गरेको छ ।


मन्त्रीपरिषद्ले अध्यादेश पास गरेपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको छ । प्रदेश प्रमुख नजीर मियाले आजै उक्त अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरिएको छ । प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त अध्यादेश ऐन सरहको कानून बन्नेछ भने आजैबाट प्रदेश भरी रोकिएको कर सङ्कलनको कार्य सुचारु हुनेछ ।

पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन सकेको छैन । सुदूरपश्चिम नयाँ आर्थिक वर्ष सुरु भए देखि बजेट शून्यताको अवस्थामा छ ।
प्रदेश सरकारले उठाउने यातायात कर, लिखित पास सम्बन्धी कर, स्थानीय तहहरूले लिने मनोरञ्जन कर लगायतको कर सङ्कलन कार्य रोकिएको हो ।
प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन । यस पालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको आर्थिक मामिला मन्त्रालयले बताएको छ ।