कैलालीमा वन मासिने क्रम बर्सेनि बढ्दै

धनगढी- पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा तथा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण हुन थालेपछि वनको क्षेत्रफल घट्दै जान थालेको हो ।

बढ्दो वन अतिक्रणसँगै विभिन्न नाममा बर्सेनि कैलालीको वनको क्षेत्र घट्दै जान थालेपछि तराईमा बाढी र डुबानको खतरा बढ्दै गएको छ । कैलालीका १३ स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमण गरी घरटहरा निर्माण भइरहे पनि डिभिजन वन कार्यालयले अतिक्रमण हटाउन चासो दिएको छैन ।

हरेक वर्ष जिल्लामा भइरहको अतिक्रमण हटाउन कार्ययोजना बनाएर बजेट विनियोजन गरिए पनि सो काम अघि बढ्न नसकेकामा संरक्षणर्मीले चिन्ता व्यक्त गर्दै आएका छन् । जिल्लाका गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाको फूलबारी, कैलारी गाउँपालिकाको वसन्ता वनक्षेत्र, भजनी नगरपालिकालगायतका क्षेत्रमा वन अतिक्रमण गरी घरटहरा निर्माण गर्ने क्रम बढ्दै गएको जनाइएको छ ।

कैलालीमा सबैभन्दा बढी वसन्ता वनक्षेत्र बाढीपीडितका नाममा अतिक्रमणको चपेटामा परेको छ । वसन्ता क्षेत्रमा बाढीपीडितका नाममा हुलाकी मार्ग किनारमा वन अतिक्रमण गरी घरटहरा निर्माण गरिएका छन् । वन अतिक्रमणले वसन्ता जैविकमार्गको ‘कनेक्टीभिटी’ जोखिममा पर्नुका साथै वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको बासस्थान विनाश भइरहेको, अवैध चोरी निकासी–तस्करीशिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताए ।

Dadeldhura hospital

वन अतिक्रमण हटाउन वन कार्यालयको एक्लो प्रयासले मात्र सम्भव नभएकाले राजनीतिक दलहरुको प्रतिबद्धता सहित सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उनको भनाई छ । कैलालीमा कूल क्षेत्रफलको दुई लाख पाँच हजार नौ सय ३९ हेक्टर वन रहेको छ । तराई र भावर क्षेत्रमा एक हजार नौ सय ३१ वर्गकिलोमिटर तथा चुरे क्षेत्रमा एक हजार तीन सय तीन दशमलव सात वर्ग किलोमिटर वन रहेको तथ्याङ्क छ।

सुदूरपश्चिममा सबै भन्दा बढी वनक्षेत्र कैलाली र कञ्चनपुरमा छ । वन विनाश र अतिक्रमणको समस्या पनि अन्य जिल्लाको तुलनामा यी दुई जिल्लामा बढी रहेको तथ्याङ्कले देखाएको छ । कैलालीमा हाल सम्म २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमण भएको अनुमान गरिएको छ । सरकारी तथ्याङ्कले भने २१ हजार भन्दा बढी वन अतिक्रमण भएको देखाउँछ । तथ्याङ्कले देशभरकै सबै भन्दा बढी कैलालीको वन क्षेत्र अतिक्रमण भएको देखाएको छ ।

कैलालीमा बढ्दो सहरीकरण, प्रदेशको राजधानी, स्वास्थ्य, शिक्षा, यातायात लगायत सुविधाका कारण पहाडबाट बसाइँ सर्ने दर अत्यधिक छ । बसाइँ सरेर आएका अधिकांशले विभिन्न बहानामा वन अतिक्रमण गरी घरटहरा निर्माण गर्ने गरेको वन प्राविधिकको भनाइ छ ।

कैलालीमा निर्माणाधीन स्थानीय, राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका कारण वन मासिने क्रम बढ्दै गएको छ । दिनानु दिन भएको वनक्षेत्र मासिँदै जाने, संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा यसको असर गम्भीर देखिने खतरा बढेको वन संरक्षणकर्मी हेम विष्टको भनाइ छ ।

यसैगरी डिभिजन वन कार्यालय पहलमानपुरले गत आर्थिक वर्षको असारमा भजनी नगरपालिकाका वडा नंं ३, ५, ७ र ९ का बाढीले विस्थापित भएर भजनी बजारछेउमा रहेको जङ्गल क्षेत्रमा बस्दै आएका झण्डै सात सय टहरा डोजर लगाएर हटाएको जनाएको छ । रासस

Loading...