धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह दोस्रो पटक नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


आइतबार कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यस लगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा आफ्नो पार्टीको ११ सांसदको समर्थन कांग्रेस संसदीय दलका नेता शाहलाई रहेको बताएका थिए। ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को उपधारा २ अनुसार शाह मुख्यमन्त्रीमा नियुक्त भएको जनाएका छन् । यसबीचमा शाहसहित प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट गरि चार जना मुख्यमन्त्रीका आकांक्षी थिए ।
अन्ततः सभापति देउवाले शाहलाई नै मुख्यमन्त्री अघि बढाउने निर्देशन गरेसंगै शाहका लागि दोस्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
शाह यस अघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा १४ महिना मुख्यमन्त्री भएका थिए । गठबन्धन फेरबदल भएर समर्थक दलहरुले समर्थन फिर्ता लिएपछि २०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए ।
