धनगढी- शव चिस्यानको माग छिमेकी पालिकाहरुबाट पनि आउन थालेपछि धनगढी उपमहानगरले थप २ वटा शव चिस्यान थपेको छ । यसअघि नगर क्षेत्र भीत्रमात्र प्रयोग हुनेगरी ३ थान सव चिस्यान खरिद गरिएका थिए ।



धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालले केही दिन अघि भीमदत्त नगरपालिकाबाट एकै पटक २ वटा शव चिस्यान माग भएर आएको बताए । ‘२ जना छोरा अमेरिकामा रहेछन । बुवाको मृत्युभएछ । बुवाको अन्तिम अनुहार हेर्नका लागि ३/४ दिनसम्म शव राख्नुपर्ने भयो भनेर फोन आयो । अब उपमहानगर बाहिर नदिने पनि कसरी ?’ मेयर हमालले भने । ‘२ वटा हामीले बाहिरको पालिकामा पठायौं, त्यतीबेला धनगढीमै अभाव महसुस भयो ।’


उनले अहिले खरिद गरिएका २ वटा शव चिस्यान उपमहानरसँग सीमाना जोडिएका पालिकाहरुलाई सहज होस भनेर किनेको बताए । ‘अहिले युवाहरु बिदेशमा जाने क्रम बढेको छ । घरमा आफन्तको मृत्यु हुन्छ । एप्ता, १० दिनसम्म पनि शव राख्नुपर्ने अवस्था आईरहेको छ । त्यसका लागि शव चिस्यान आवश्यक भईसक्यो’ हमालले भने ।
बिजलीबाट चल्ने उक्त शव चिस्यानमा २/३ हप्तासम्म पनि शव राख्न सकिन्छ । छोराछोरी बाहिर देश भएका र बुवा आमाको नेपालमा मृत्यु भएकाहरुले यसको बढी प्रयोग गर्ने गरेका छन ।





