कञ्चनपुरमा २० प्रतिशतले भन्सार राजस्व वृद्धि

कञ्चनपुर- कञ्चनपुरमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा २० प्रतिशतले भन्सार राजस्व वृद्धि भएको छ । गत आर्थिक वर्ष ०८०/८१ मा लक्ष्यको ९१.१५ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।

भन्सार कार्यालय गड्डाचौकीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ५९ करोड ६९ लाख सात हजार राजस्व संकलनको लक्ष्य भएकोमा ५४ करोड ४१ लाख ७९ हजार राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा लक्ष्यभन्दा झन्डै नौ प्रतिशतले कम राजस्व संकलन भए पनि त्यसअघिका दुई वर्षको तुलनामा भन्सार राजस्व वृद्धि भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आर्थिक वर्ष ०७९/८० मा ५८ करोड ९६ लाख ४८ हजार राजस्व संकलन लक्ष्य भएकोमा ४२ करोड ९९ लाख नौ हजार अर्थात् ७१.४० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । त्यसअघिको आर्थिक वर्ष ०७८/७९ मा ५२ करोड ७७ लाख ६० हजार लक्ष्यमा ४६ करोड २२ लाख ४३ हजार राजस्व संकलन भएको थियो । यो लक्ष्यको ८८ प्रतिशत प्रतिशत भए पनि तुलनात्मक रूपमा लक्ष्यसमेत कम थियो ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत एवं सूचना अधिकारी तेजबहादुर रावलले स्वयं भन्सार कार्यालयको सक्रियता, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका सुरक्षा निकायको सक्रियताले भन्सार राजस्व वृद्धि भएको बताए । ‘यो खुला सीमा भएको जिल्ला हो, यहाँ भन्सार तिरेर सामान ल्याउनुपर्छ भन्ने कमै छ । चोरी–तस्करी गरेर ल्याउन खोज्छन्,’ उनले भने, ‘हामीले पनि कडाइ गर्‍यौँ, साथसाथै सशस्त्र, प्रहरीले समेत तस्करी नियन्त्रणमा सशक्त भूमिका निर्वाह गर्दा भन्सार राजस्व वृद्धि भएको हो ।’

जिल्लाभरिका खुला नाकाहरूमा कडाइ तथा भन्सार चोरीछलीविरुद्ध प्रहरी र सशस्त्र प्रहरीको सक्रियताले केही आफैँ भन्सार काट्न आएका र प्रहरीबाट बरामद भएको सामानसमेत भन्सार राजस्वमा समावेश भएको उनको भनाइ छ । सूचना अधिकारी रावलले भन्सार विभागले अन्दाजका भरमा लक्ष्य तोकिदिने भएकाले कहिलेकाहीँ लक्ष्य भेट्टाउन समस्या हुने गरेको बताए ।

विगतका वर्षहरूमा भन्सारकै कर्मचारी, सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृत एवं कर्मचारीसँग तस्कर समूहको साँठगाँठ एवं सेटिङ हुने गर्दा भन्सार चोरीछली, राजस्व चुहावट हुने गरेको आरोपसमेत लाग्दै आएको थियो । अहिले भन्सारदेखि सशस्त्र प्रहरी, प्रहरीले भन्सार चोरीछली तस्करीविरुद्ध कडाइ गरेपछि भन्सार राजस्व वृद्धि भएको हो ।

Loading...