कञ्चनपुर- बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामूहिक अन्त्येष्टि गरिएको छ ।
मंगलबार तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदम बहादुर रोकायाले जानकारी दिए ।
“पोष्टमार्टम पछि मंगलबार दाहसंस्कार गरिएको छ । पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको छ,” वडाध्यक्ष रोकायाले भने । सोमबार दिउँसो पुनर्वास नगरपालिका-५ गाउँका १६ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १३ वर्षीय आरती बोगटीको रातोखाली स्थित डुबानमा परेर निधन भएको थियो ।
दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए । उनले पीडित परिवारलाई भेटेर संवेदना प्रकट गर्दै सान्त्वना दिए ।
त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस