भारी वर्षाले कञ्चनपुरका अधिकांश भूभाग डुबानमा

कञ्चनपुर-  लगातार परेको अति भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश ठाउँमा डुबानमा परेका छन् । पछिल्लो २४ घन्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ । यो हाल सम्मकै अत्यधिक वर्षा हो । यस्तै कञ्चनपुरको हनुमाननगरमा ५७० मिलिमिटर वर्षा भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार डुबानमा परेका ४६६ घरपरिवारका १ हजार ६२२ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । जिल्लाको दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र पुनर्वासमा भारी वर्षाका कारण डुबानमा परेका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो ।

उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको छ । भारी वर्षाका कारण अझै बस्तीहरू डुबानमा पर्ने क्रम बढ्दै गएको डिएसपी जोशीले जानकारी दिए ।

यस्तै घर डुबानमा परेपछि जिल्लाकै कृष्णपुरका एक बालकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– १ मोतीपुरका ७ महिनाका बालक सोलु धानुकको घर भित्र पानी पसेपछि मृत्यु भएको हो । घर भित्र झुलामा निदाइरहेका उनको पानीका कारण निस्सीएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

Loading...