कञ्चनपुर- कञ्चनपुरमा नेपाली सेनाले सेफ हाउस (सुरक्षित घर) निर्माण गरेको छ । जिल्लाको कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी छ ।
महाकाली र जोगबुढाको दोसाधमा पर्ने उक्त वस्तीका बासिन्दाले गत वर्षसम्म वर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए। करिब तीन महिना लगाएर सेनाले कुतियाकवरमा दुई तले सुरक्षित घर बनाएको छ । सेनाले उक्त सुरक्षित घर दोधारा–चादँनी नगरपालिकालाई हस्तान्तरण गरेको छ । सुरक्षित घर बनेपछि कुतियाकवरका ४२ परिवार बाढीको बेला बाँचिने भयो भन्दै खुसी भएका छन् ।
नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको शीघ्र प्रभावी परियोजना अन्तर्गत यहाँ सुरक्षित घर निर्माण गरेको हो । नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि गणेश कुमार श्रेष्ठले सुरक्षित घरको उद्घाटन गर्नुका साथै साँचो दोधारा–चादँनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गरेका छन् ।
भवन हस्तान्तरणपछि पृतनापति उपरथी श्रेष्ठले सुरक्षित घरको सदुपयोग सँगै मर्मत सम्भारमा ध्यान दिन नगरपालिकालाई आग्रह गरेका छन् । सेनाले सुरक्षित घर बनाइदिएपछि २०३९ साल देखि बाढीको जोखिम मोलेर बस्दै आएका कुतियाकवरवासी खुसी भएका छन् । स्थानीय खड्के बुढाले सुरक्षित घरले मानवीय क्षति हुनबाट जोगिने आश जागेको बताए ।
जोगबुढा नदीमा पुल नहुँदा वर्खामा विद्यार्थी विद्यालय आवतजावत गर्न मुस्किल हुने गरेको छ । ४२ परिवारको बसोबास रहेको कुतियाकवर भारतीय सिमानासँग जोडिएको बस्ती हो । सो बस्ती २०२२ सालमा बसेको हो । कुतियाकवरका टङ्कलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन दश धुर जमिन निःशुल्क उपलब्ध गराएका हुन् ।
झण्डै ६० जना क्षमताको उक्त सेफ हाउस निर्माणका क्रममा सेनालाई दोधारा–चादँनी नगरपालिका र केही निर्माण व्यवसायीले सहयोग गरेका थिए । दोधारा–चादँनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बूले २०७८ सालमा बाढी आउँदा कुतियाकवरवासीले रुखमा चढेर ज्यान जोगाएका विगत सुनाए ।