अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अन्तरगत अत्तरिया बसपार्क, मालाखेती चोक, स्याउले बजार र लालपुर बजारमा हाइमास्ट लाइट जडानको काम सुरु गरिएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग र खुटिया-दिपायल सडक खण्डको केन्द्र मानिएको स्याउले बजारमा हाइमास्ट लाइट जडानको प्रक्रियामा अगाडि बढेको जानकारी नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।
यस बजारमा रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न र रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवर्द्धन गर्न तथा सहरको सौन्दर्य अभिवृद्धि गर्न स्मार्ट सडक बत्ती अपरिहार्य रहेको नगर प्रमुख भट्टले बताएका छन ।
यसै चोकको बिचमा सानो आकारको पार्क बनाउने तयारीमा रहेको र बिच भागमा बत्ती जडानका लागि काम अगाडि बढेको नगर प्रमुख भट्टले बताएका छन ।
गोदावरी नगरपालिकाको महेन्द्र राजमार्गमा पर्ने सडक खण्ड अन्तरगत बाक्लो बस्ती र जनघनत्वलाई मध्यनजर मालाखेती चोक, अत्तरिया बसपार्क, लालपुर चोक लगायत ठाउँमा हाइमास्ट लाइट जडानका लागि प्राविधिकहरूको टोलीद्वारा निरीक्षण गरी ठाउँ छनौट गरेको र आज बाट नै काम अगाडि बढाइने गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।