

अत्तरिया- बिहीबार प्रकाशित भएको एसईईको नतिजा अनुसार कैलालीको गोदावरी नगरपालिकाको एउटा विद्यालयको नतिजा शून्य आएको छ । गोदावरीमा सञ्चालित एक सामुदायिक र दुई संस्थागत गरी तीन विद्यालयका एक एक जनाले ४ जिपिए ल्याउँदा वडा नम्बर १२ स्थित दुर्गा मावि कोलमुडाको नतिजा भने शून्य आएको हो ।


दुर्गा मावि कोलमुडाका कुनै पनि विद्यार्थी एसईईमा उत्तीर्ण हुन नसकेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कैलालीका अधिकृत प्रताप धामीले बताएका छन् । सामुदायिक र संस्थागत गरी गोदावरीका २१ विद्यालयबाट झण्डै एक हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।



दुर्गा मावि कोलमुडाका प्रधानाध्यापक नेत्र प्रसाद भण्डारीका अनुसार उत्त विद्यालयबाट एसईईमा ४८ जना विद्यार्थी सहभागी भएका थिए । ती मध्य १० जनाले ग्रेडवृद्धी परीक्षा दिन पाउने भएका छन् ।
यद्यपि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।
प्रधानाध्यापकद्वारा राजीनामा
विद्यालयको नतिजा शून्य आए पछी विद्यालयका प्रधानाध्यापक भण्डारीले आज राजीनामा दिएका छन् । भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर बिक समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भने भएको छैन ।
समितिले आगामी सोमबार प्रधानाध्यापकको राजीनामा बारे निर्णय लिने भएको छ । त्यस्तै १ संस्थागत र १४ सामुदायिक गरि कैलालीका १५ विद्यालयको नतिजा शून्य आएको छ । कैलालीका २९५ विद्यालयबाट १८ हजार ६० जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । परीक्षामा कैलालीका ४ विद्यार्थीले ४ जिपिए हँसिला गरेका छन् ।