कञ्चनपुरमा वन्यजन्तु र मानव बिचको द्वन्द्वले मानवीय क्षति

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी सीमाक्षेत्रमा भइरहेका मानव र वन्यजन्तु बीचको द्वन्द्वले मानवीय क्षति हुन थालेको छ। यो क्षेत्रमा केही वर्षयता हात्ती र बाघको आक्रमणका छुट्टाछुट्टै घटनाबाट चार जनाको मृत्यु भएको सब डिभिजन वन कार्यालय कुण्डा, (कञ्चनपुर) का अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।

वन्यजन्तुको आक्रमणबाट केही व्यक्ति घाइते भएका छन्। गत वर्षमात्रै बेलौरी नजिकको पचुइँमा बाघको आक्रमणमा परी स्थानीय एक महिलाको मृत्यु भएको थियो । वन कार्यालयको पहलमा उक्त बाघ काठमाडौँ चिडियाघरमा पुर्याइएको थियो ।

Navadurga sun

यस अघि आफ्नै गाउँ नजिकैको भारतीय वनमा घाँस काट्न गएकी कञ्चनपुर, पुनर्वासकी एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो । बेलौरी क्षेत्रमा दुई छुट्टाछुट्टै ठाउँमा भएका हात्ती आक्रमणबाट पनि दुई जनाको मृत्यु भइसकेको छ । पुनर्वास क्षेत्रमा हात्ती आक्रमणका घटनामा पाँच जना घाइते भएका थिए।

हात्तीले खेतमा बाँधेको एउटा गोरुसमेत मारेको थियो । एक साताअघि राति ९ बजे पुनर्वास नगरपालिकामा हात्तीले आक्रमण गर्दा वादी राना घाइते भएका छन् । उनको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सब डिभिजन कार्यालयको तथ्याङ्कअनुसार केही वर्षयता नेपाल–भारत दशगजा क्षेत्र र पुनर्वासमा दुई हात्ती मरेको अवस्थामा फेला परेको छन् । अर्को एक हात्ती कालगतिले मरेको भेटिएको छ ।

बर्सेनि मानिसका घरखेतमै पुग्ने हात्तीले सयौँ बिघामा गरिएको किसानको खाद्यान्न तथा नगदेबाली नष्ट गर्ने गरेको छ। वन्यजन्तु ओहोरदोहोर गर्ने वन क्षेत्रको पुरानो मार्ग टुट्न थालेकोले मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्न थालेको वन प्राविधकको भनाइ छ । यो क्षेत्रमा सीमापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्ज र वारी नेपालतर्फ लालझाडी वनक्षेत्र छ । लालझाडी वन क्षेत्रसँग मोहना–लालझाडी जैविकमार्ग जोडिएको छ ।

‘यस्तो द्वन्द्व हटाउन वन्यजन्तुको जैविक मार्गको संरक्षण गर्दै टुटेको भागलाई जोड्न जरुरी भइसकेको छ’, अधिकृत यादवले भने, ‘यसबाहेक जनचेतना अभिवृद्धिको पाटोलाई सशक्त बनाउन जरुरी छ ।’ वर्षायाममा सीमापारिको दुदुवा राष्ट्रिय निकुञ्ज जलमग्न हुँदा त्यहाँका हात्ती, बाघ, चितुवालगायतका वन्यजन्तु केही समय बसाइँका लागि अग्लो भूभाग खोज्दै नेपालको लालझाडी लगायतका वनक्षेत्रमा आउने गरेका छन् । हात्ती एक ठाउँबाट अर्को ठाउँ जाँदा आफ्नो पुस्तौँदेखि हिँडिरहेको बाटो प्रयोग गर्ने बताइन्छ ।

सब डिभिजन कार्यालय, कुण्डाले वन्यजन्तुको सङ्ख्या एवं गतिविधिबारे अध्ययन गर्न यस क्षेत्रको केही ठाउँमा स्वचालित क्यामरा जडान गरेको थियो । क्यामराले वन क्षेत्रमा धेरै सङ्ख्यामा चितुवा देखिएको जनाइएको छ । पछिल्ला वर्षमा लालझाडी वन क्षेत्रमा चितुवा र चित्तलको सङ्ख्या बढेको वन अधिकृत यादवले जानकारी दिए । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...