अत्तरिया- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
बोर्डका अनुसार, १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । बिहीबार एसईई नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले सबै भन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेको जानकारी गराए । परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएका छन् ।
ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ । ननग्रेड ल्याउने मध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् भने त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् । ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको शर्माले जानकारी गराए ।
त्यस्तै, सबै भन्दा बढी लुम्बिनी प्रदेशका विद्यार्थीले ‘ननग्रेड’ ल्याएका छन् । लुम्बिनीका ८० हजार ३ सय २७ जना विद्यार्थीमध्ये ४९ हजार २ सय २४ जना ननग्रेडमा परेका हुन् ।
प्रदेश १ मा ३९ हजार ८ सय ९५ जना, मधेश प्रदेशमा ४२ हजार २ सय ८६ जना, बागमती प्रदेशमा ३३ हजार ८ सय ४३ जना, गण्डकी प्रदेशमा २० हजार २ सय ७५ कर्णाली प्रदेशमा २० हजार ३ सय ८० र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ४ सय १० जना ननग्रेडमा छन् ।