परम्परागत पहिरन सिलाएर घरखर्च

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् । राना थारू समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छिन् ।
दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेकी छिन् । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुुन्छिन् । ”आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ । परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छु, उनले भनिन्, ”कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्षणका लागि टेवा पुर्‍याउन सकेकोमा खुसी लाग्छ ।”
रानाथारु समुदायले लगाउन अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोसाक तयार पार्ने गरेको उनले बताइन् । कपडामा फूल जस्तै देखिने फुर्का लगाउनु पर्छ । आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गरेकी छिन् । ”आमासँग लुगा सिलाउने सिकँ ”। अहिले त्यहीँ सीपले गुजारा चलेको छ । एक जोर लुगा तयार गर्न एक महिनाभन्दा बढी समय लाग्छु, उनले भनिन्, ”लुगा आफैँले ल्याएर तयार गरेको ८ हजार रुपैयाँ लिन्छौँ । हामीले नै लुगा किनेर तयार पारेको पहिरनको २० हजार रुपैयाँ सम्म लिने गरेका छौँ ।”
डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम सक्रिय छिन् । सानैमा आमा र हजुरआमाबाट उनले पहिरन सिलाउने सीप सिकेकी हुन् । तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उनी बताउछिन् । ”हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो । हातले बनाउनेबाट अहिले मेसिनको प्रयोग हुनथालेको छ । यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छु, उनले भनिन्, “वर्षमा दश जोर लुगा सिलाउँछु । बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ ।”
पहिरन बनाउन गाउँकै मानिस उहाँको घरमा आउने गर्छन् । पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ । ”बेलौरीमा खोजेकोजस्तो सबै सामान पाइँदैन । महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्छ, उनले भनिन्, ”सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्छ ।”  रासस

Loading...