थारू बस्तीमा सिकलसेलका बिरामी बढ्दै

धनगढी- थारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय उपचार गराउन आउने सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको वंशाणुगत रोग हो ।

उपचार गराउन आउनेमा कैलारी गाउँपालिकाका सबै भन्दा बढी १५४ जना रहेको अस्पतालले जानकारी दिएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाका १४७, गोदावरी नगरपालिकाका ६४, गौरीगङ्गा नगरपालिकाका ५४, घोडाघोडी नगरपालिकाका ३७ जना रहेका अस्पतालका सिकलसेल स्रोत व्यक्ति गौरी जोशीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

लम्कीचुहाका २१, टीकापुरका ३३, भजनी नगरपालिकाका ३९ जना, बर्दगोरियाका ४५, जानकीका ४७ र जोशीपुर गाउँपालिकाका ४३ सिकलसेल बिरामीले सेती प्रादेशिक अस्पतालबाट उपचार गराइरहेका जनाइएको छ । सरकारले सिकलसेल परीक्षण र उपचार निःशुल्क गरे पनि अलग्गै उपचार कक्षको व्यवस्था हुन नसक्दा बिरामीले समस्या भोग्दै आएको जोशीले बताए । यसै गरी कञ्चनपुरमा २६४ जना सिकलसेल एनिमियाका बिरामी रहेको अस्पतालले जानकारी दिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०, बेलौरीमा ८८, पुनर्बासमा २३, कृष्णपुर नगरपालिकामा ५६ जना र लालझाडी गाउँपालिकामा २४ जना सिकलसेलका बिरामी रहेका छन् । यस्तै बेलडाँडी गाउँपालिकामा २१, शुक्लाफाँटा नगरपालिकामा १४ र वेदकोट नगरपालिकामा १४ जना बिरामी रहेको जनाइएको छ ।

नेपाल सरकारले सिकलसेल एनिमियाका बिरामीको उपचारको व्यवस्था नीतिगत रूपमा गरेको छ । सिकलसेल एनिमिया भएकाले एक लाख रुपियाँ बराबरको निःशुल्क उपचार सेवा पाउँदै आएका छन् । सिकलसेलको परीक्षण र उपचार निःशुल्क रहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शेरबहादुर कमरले बताए ।

सिकलसेल लागेका व्यक्तिमा शरीर, हाडजोर्नी दुख्ने, रक्तअल्पता, रिँगटा लाग्ने, शरीर कमजोर हुने लगायतका स्वास्थ्य समस्या देखिने गरेका छन् । सिकलसेल पोजेटिभ दम्पतीबाट जन्मिने ९९ प्रतिशत बच्चालाई सिकलसेल रोग लाग्न सक्ने भएकाले सिकलसेलको जन्मकुण्डली हेरेर मात्रै विवाह हुनुपर्नेमा डा. कमरले जोड दिए ।

Loading...