धनगढी- कैलालीमा सिकलसेल रोगबाट प्रभावित बिरामीको संख्या बढ्दै जान थालेको छ । थारु समुदायमा जनचेतना अभाव, गरिबी, तथा सर्वसुलभ स्वास्थ्य सेवा नहुँदा सिकलसेल एनिमिया रोगीको संख्या बढ्दै गएको हो ।


सेती प्रादेशिक अस्पतालद्धारा बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आदिवासी जनजातिमा सिकलसेल एनिमिया रोगका लक्षण धेरै देखिने गरेको जानकारी दिइएको छ । सेती प्रादेशिक अस्पतालका सिकलसेल एनिमियाका फोकल पर्सन गौरी जोशीले दिएको जानकारी अनुसार कैलाली ६ सय ६५ र कञ्चनपुरमा २ सय ६४ गरी ९ सय ४९ जनाले उपचार गराई रहेका छन्। सरकारले सिकलसेलको परीक्षण र उपचार निःशुल्क गरेपनि छुट्टै उपचार कक्षको व्यवस्था नहुँदा समस्या भइरहेको उनले बताए।


सिकलसेल एनिमिया (रक्त अल्पता) पश्चिम नेपालमा देखिएको जटिल रोग भएकोले यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय, प्रदेश सरकार तथा सरोकारवाला निकायको भूमिका महत्पूर्ण हुने सेती प्रादेशिक अस्पतालका डा. प्रदिप मिश्रले बताए। विशेषगरी यो रोग थारू जातिमा बंशाणुत रुपमा देखा पर्दै आएको उनले बताए । नेपालको तराई क्षेत्रका बाँके, दाङ, बर्दिया, कैलाली थारू जातिको बसोबास धेरै भएका जिल्ला हुन् ।

‘सरकारले नीतिगत रूपमा सिकलसेल रोगीको उपचार गर्ने व्यवस्था गरेको बताउँदै सेती प्रादेशिक अस्पतालमा मेडकल सुपरीडेन्डेन्ड डा. शेर बहादुर कमरले परीक्षण र उपचार दुवै निःशुल्क रहेको बताए । उनले सरकारले एउटा बिरामीलाई १ लाख बराबरको औषधि दिँदै आएको बताए । कैलालीका विभिन्न थारू बस्तीमा सिकलसेल एनिमिया प्रभावितको संख्या दिनानुदिन बढ्दै गएको पाइएको उनले बताए ।
परीक्षण र उपचार निःशुल्क भए पनि ग्रामीण स्तरमा पुगेर रोगका बारेमा परीक्षण र जनचेतना भने जगाउन आवश्यक रहेको डा. कमरको भनाइ छ ।
स्थानीय स्तरमा काम गरिरहेका स्वास्थ्यकर्मी, सिकलसेल एनिमियाका बारेमा जनचेतनाको अभाव भएको जनाइएको छ । सिकलसेल तराईमा गम्भीर रोगका रूपमा देखिएको छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा हरेक नागरिकको परीक्षण गर्नुपर्ने हो उनले भने । दुर्गम क्षेत्रका थारू बस्तीका अधिकांश बासिन्दा निम्न आयस्तरका छन् ।
परीक्षणका लागि १ हजार शुल्क लाग्ने गरेकाले धेरै बिरामीको निःशुल्क परीक्षण सुविधा दिन सके रोग पत्ता लाग्ने उनी बताउँछन् । वंशाणुगत रूपमा सर्ने सिकलसेल भएका व्यक्तिमा शरीर, हाडजोर्नी दुख्ने, कमलपित्त, रक्तअल्पता, रिंगटा लाग्ने, कमजोर हुने लगायतका समस्या देखिने गरेको जनाइएको छ । सिकलसेल भएका दम्पत्तिबाट जन्मेका बच्चामा समेत यो रोग देखिने गरेको छ।





