कर्णाली नदीमा डुंगा दुर्घटना : गम्भीर घाइते महिलाको मृत्यु





अत्तरिया, १७ साउन- कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गम्भीर घाइते भएकी मोहन्याल गाउँपालिका– ३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनका एक महिनाका छोरा कर्ण सलामी मगरसमेत घाइते छन् । बालकको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।



कणाली नदीमा आइतबार मध्यान्ह १२ बजे डुंगा पल्टिदा एक नाबालकसहित तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका वडा नं. ३ रागा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका– ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गैरहेका बेला दुर्घटना भएको हो । डुंगा पल्टिदा मोहन्याल गाउँपालिका वडा नं. ३ की २० वर्षीया उर्मिला सलामी मगर र उनको १० दिनको बच्चा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएकी छन् । प्रहरीका अनुसार डुंगामा १० जना सवार थिए ।


त्यसमध्ये पाँच जना पौडिएर जोगिएका छन्। घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन् । नदीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाई भैरहेको प्रहरीले जनाएको छ ।



