बझाङ- बझाङ जिल्लाका एकै दिन तीन पालिका पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधवार बुङगल नगरपालिका, खप्तडछान्ना गाउँपालिका, तल्कोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा भएका हुन् । आज कार्यालयले तीनै पालिकाहरूलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरेको हो ।
बुङगल नगरपालिका भर ०–५९ महिना उमेर समूहका ३३ सय ५३ बालबालिकाले खोप लगायतका छन् भने खप्तडछान्ना गाउँपालिकामा ०–५९ महिना उमेर समूहका ७ सय ८२ बालबालिकाले खोप पाएको खप्तडछान्ना गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र रोकायाले बताउनुभयो । यस्तै तल्कोट गाउँपालिकामा ० देखि १५ महिनाका १ सय ९८ जना र १६ देखि १५ महिना सम्मका ७ सय ९८ जना गरी ९ सय ९६ जना बालबालिकाले खोप लगाएको तल्कोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरजीत खड्काले बताउनुभयो ।
यस अघि जयपृथ्बी नगरपालिका, बित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा भैसकेका छन् । अब जिल्लाका मष्टा, साइपाल ,छबिसपाथीभेरा, दुर्गाथली, थलारा, केदारस्यु गाउँपालिका बाँकी रहेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । जिल्लाका १२ वटै पालिका पूर्ण खोप घोषणा गरेपछि जिल्ला लाई नै पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिने स्वास्थ्य कार्यालय बझाङका खोप अधिकृत भानुभक्त जोशीले बताउनुभयो ।
कार्यालयले हरेक वर्ष १६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकाहरूले १५ महिना भित्र लगाउनु पर्ने सबै खोपहरू लगाए/नलगाएको खोजी गर्ने गर्दछ । सो उमेर समूहका बालबालिकाहरूले १५ महिना अवधिमा लगाउनु पर्ने खोप छुटेको भए कार्यालयले पुनः उनीहरूलाई खोप लगाउने गरेको स्वास्थ्य कार्यालय बझाङका जन स्वास्थ्य निरीक्षक दीपक ऐडिले बताउनुभयो ।