सुदूरपश्चिम प्रदेश स्तरीय लोक गायन प्रतियोगितामा बैतडीका बोहरा प्रथम

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा भएको सुदूरपश्चिम प्रदेशस्तरीय लोक गायन प्रतियोगितामा बैतडीका भरत बोहरा प्रथम भएका छन् । बोहराले प्रतियोगितामा गायक महेस औजीको स्वरमा रहेको कलेजी कटाउने माया भन्ने भाका प्रतियोगितामा प्रस्तुत गरेका थिए । प्रथम भए संगै उनले नगद १५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेका हुन् ।

त्यस्तै बझाङका कुलेन्द्र परियारले द्वितीय भए । परियारले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । परियारले गायक भोजराज भट्टको स्वरमा रहेको ‘हरबे हरहर’ बोलको भाका प्रस्तुत गरेका थिए । त्यसैगरी प्रतियोगितामा बाजुराकी मनिषा बिकले तेस्रो स्थान हाँसिल गर्दै ७ हजार रुपियाँ नगद प्राप्त गरेकी छन । उनले प्रतियोगितामा ठाडी भाका प्रस्तुत गरेकी थिइन् । त्यस्तै कञ्चनपुरकी हेमन्तु रानाले चौथो स्थान हँसिल गरेकी छन् ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र रविन कला केन्द्रको सह–आयोजनामा एक दिवसीय ‘सुदूरपश्चिम प्रदेश स्तरीय लोक गायन प्रतियोगिता २०८१’ अत्तरियामा सम्पन्न भएको हो । कार्यक्रममा सुदूरपश्चिमका नौ ओटै जिल्ला बाट एक/एक जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको निर्णायकको भूमिकामा नरेन्द्रराज रेग्मी, लालबहादुर धामी (अछामी बड्डो), सुरत रावत (डोटेली कान्छा) रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीले लुकेर रहेका प्रतिभाहरूलाई प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस्ता कार्यक्रमहरूले सुदूरपश्चिमका मौलिक भाकाहरूलाई जर्गेना गर्ने बताए । प्रतियोगितामा साइकलयात्री भरत बिक्रम शाह लगायत ४ जनालाई सम्मान पनि गरिएको थियो ।

Loading...