

धनगढी- धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बिहीबार देखि क्रिकेट खेलाडीका लागि सञ्चालन गरेको तिन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। तालिमको तेस्रो दिन शनिवार भिडियो सेसन सँगै क्याम्प समापन भएको हो ।
धनगढी क्रिकेट एकेडेमीले खेलाडीको खेल सीप विकास गर्नको निम्ति आयोजना गरेको उक्त प्रशिक्षण क्याम्पमा नेपाल यु–१९ का प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरूलाई तिन दिन प्रशिक्षण गराए । डीसीएमा क्रिकेट अभ्यासका लागि जोडिएका विभिन्न उमेर समूहका खेलाडीले आफूहरूले राष्ट्रिय टोलीका अग्रज प्रशिक्षकबाट धेरै नै नयाँ टेक्निकहरू सिक्न पाएको र उक्त अवसरका लागि डीसीए परिवारलाई धन्यवाद ज्ञापन गरे ।



विगत ८ महिना देखि धनगढी क्रिकेट एकेडेमीमा अभ्यास गरिरहेका नीरज भट्टले यो तिन दिनले सिकाइमा थप ऊर्जा मिलेको बताए । ’हामीले पहिलो दिन ब्याटिङ ग्रिप, स्ट्याण्ड, डिफेन्स ड्राइभ लगायतका कुराहरू, दोस्रो दिन फिल्डीङ का लागि आवश्यक पर्ने पेस, थ्रो र तेस्रो दिन भिडियो सेसनमा उक्त कुराहरू कसरी खेल्ने भन्ने लगायतका अन्य कुराहरू सिकाउनु भयो यसका लागि कोच र डिसिए लाई धन्यवाद दिन्छु’ उनले भने ।


त्यस्तै सुदूरपश्चिमको क्रिकेटमा डीसीएले योगदान गर्ने अवसर प्रदान गरेको खुशी व्यक्त गर्दै प्रशिक्षक टमाटाले तिन दिने क्याम्पमा सहभागी नयाँ होनहार लगनशील खेलाडीहरू रहेको र यही रफ्तारमा आफ्नो मेहनत अभ्यासलाई बढवा दिन सके उनीहरूको भविष्य उज्ज्वल देखेको बताए ।
सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को सेमिनार हलमा सम्पन्न उक्त कार्यक्रममा डीसीएका म्यानेजर समुयल न्यौपाने, ग्रास रुट क्रिकेट धनगढीका प्रशिक्षक ज्ञानेन्द्र क्षेत्री, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, तथा एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही लगायत धनगढी डीसीएमा क्रिकेट अभ्यासका लागि जोडिएका विभिन्न उमेर समूहका खेलाडीहरू, खेलाडीहरूका अभिभावक तथा क्रिकेट प्रेमी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

