मुलुकको अर्थतन्त्र तीव्र रूपमा रूपान्तरण गर्न वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यक : प्रधानमन्त्री ‘प्रचण्ड’
कञ्चनपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र रूपमा रूपान्तरण गर्न वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्ने बताएका हुन् । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा सामाजिक रूपान्तरणका लागि सहयोगी हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए ।
विश्व शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा समयानुकूल सुधार गर्दै अघि बढ्न जरूरी रहेको उनले बताए। सुदूरपश्चिम प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै उनले विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको छ।
प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरु गरिसकेको विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने बताउँदै उनले त्यसका लागि नेपाल सरकारको आवश्यक सहयोग रहने उल्लेख गरे । प्रधानमन्त्रीले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताए । ‘यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ’, प्रधानमन्त्रीले भने, ‘विश्वविद्यालय स्थापनाको लागि ऐन निर्माण लगायतका कामहरू द्रुत गतिमा अगाडि बढिरहेका छन् ।’
उनले गेटामा स्थापना हुने विश्वविद्यालय यस क्षेत्रको विकासमा एउटा कोशेढुङ्गो साबित हुने विश्वास व्यक्त गरे । साथै विश्वविद्यालयको प्राज्ञिक गुणस्तर उच्च राख्न राख्नुपर्ने उनले बताए । सबैका लागि अध्ययन तथा अनुसन्धानको आकर्षणको केन्द्र विश्वविद्यालय बन्नुपर्नेमा उनको जोड छ ।