धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले खेलकुद क्षेत्रको विकासका लागि आगामी बजेटमा विशेष व्यवस्था गरिने बताएका छन् । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विभिन्न पदक जित्ने खेलाडीको बधाई तथा सम्मानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सोडारीले खेलाडीले प्रदेशको गरिमा बढाएकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । काठमाडौँमा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सुदूरपश्चिमले १९ स्वर्ण, रजत १२, कास्य १८ सहित ४९ पदक जितेर पहिलो भएको थियो ।
सो प्रतियोगितामा बागमतीले १७, कर्णालीले १०, कोशीले ८, लुम्विनी ६, गण्डकी ३ र मधेसले ३ स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा तीन हजार मिटर एथ्लेटिक्समा १० मिनेट ५२ सेकेन्ड ८२ पल्समा पार गरेर देविकाकुमारी धामीले जुनियरतर्फ नेशनल रेकर्ड कायम गरीन् ।
सुदूरपश्चिमकै आशिष महरले त्रिपलजम्प १४।१९ मिटर लामो हानेर जुनियरतर्फ नेशनल रेकर्ड कायम गरेका थिए ।सम्मान तथा बधाई कार्यक्रम सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहको अध्यक्षतामा भएको थियो ।