
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । मन्दिर बाहिर लहरै ठेला राखेर पसल थापिएको छ ।

मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थी कोही मन्दिरभित्र प्रवेश गरिरहेका छन् । कोही आफूलाई मनपर्ने सामान किन्न व्यापारीसँग मोलमोलाइ गरिरहेका भेटिन्छन् । पछिल्लो केही सातायता महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो । हजारौँको संख्यामा दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउँदा महेन्द्रनगर बजारमा पनि चहलपहल बढेको छ ।


पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतीय दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने श्रद्धालुको भीडभाडले यहाँको व्यापार-व्यवसाय पनि बढेको हो । पछिल्लो समय गड्डाचौकीबाट महेन्द्रनगर बजार सम्मै श्रद्धालुको लस्कर देखिन्छ । नेपाल र भारतमा लाग्ने पूर्णागिरी मेलाले महेन्द्रनगर स्थित सिद्धबाबा मन्दिर दर्शनार्थी गुलजार बनेको छ ।
“अरु बेला दर्शनार्थी कमै हुन्छन् । पूर्णागिरी मेलाले यो समयमा सिद्धबाबा दर्शनका लागि धेरै मानिस पुग्ने गरेका छन्”, सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका सचिव पुष्कर उप्रेतीले भने, “फागु पूर्णिमा देखि वैशाख पूर्णिमा सम्म श्रद्धालु बढी आउँछन् ।
त्यसपछि दर्शनार्थी घट्दै जान्छन् ।” उनका अनुसार हरेक वर्ष फागु पूर्णिमा देखि पूर्णागिरी मेला लाग्ने गरेको छ । भारतको उत्तराखण्ड स्थित पूर्णागिरी मन्दिरमा पुगेपछि सिद्धबाबाको पनि दर्शन गरेमात्रै मनोकामना पूरा हुने मान्यता अनुसार पूर्णागिरीको दर्शन गरेका श्रद्धालु सिद्धबाबाको दर्शन गर्न पुग्ने गरेका छन् ।