
धनगढी- धनगढीका नगर प्रमुख गोपाल हमालले भ्रष्टाचार नियन्त्रण नहुँदासम्म देश नबन्ने बताएका छन् । सत्ता सञ्चालन गर्ने राजनीतिक नेतृत्व इमानदार नभएसम्म मुलुकको विकास हुन नसक्ने हमालले बताएका हुन् ।




धनगढीमा भएको सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलनमा उनले मुलुकको विकासका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्ने र त्यसका लागि राजनीतिक इच्छाशक्ति र नेतृत्वमा इमानदारिता आवश्यक रहेको बताए ।




स्वतन्त्र हैसियतमा चुनाव जितेका नगर प्रमुख हमालले राजनीतिक नेतृत्व इमानदार नहुँदा मुलुकमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढेको बताएका छन् । ‘हाम्रो मुलुकमा अहिलेसम्म नेताहरूको उद्देश्य पार्टी बनाउने, पार्टी जोगाउने मात्रै हुन्छ, देश बनाउने कुरामा कसैको ध्यान नै गएको छैन,’ उनले भने, ‘पार्टी जोगाउनु, पार्टी बनाउनु भनेको कार्यकर्तालाई योजना दिनु हो ।’
नगर प्रमुख हमालले उपभोक्ता समिति भ्रष्टाचार सिकाउने अखडा बनेको बताएका छन् । ‘उपभोक्ता समिति भ्रष्टाचार सिकाउने अखडा बनेका छन् । उपभोक्ता समितिमा एक करोडको योजना पाए ६० लाखमा त्यो काम निर्माण व्यवसायीलाई दिइन्छ र ४० लाख खाने प्रवृत्ति छ,’ नगर प्रमुख हमालले भने, ‘धनगढीमा हामीले उपभोक्ता मार्फत काम गर्न बन्द गरेका छौँ । योजना ठेक्कामा लगाएर काम गर्ने व्यवस्था गरेका छौँ । टेण्डर गर्दा बच्ने पैसालाई जनताको काममा सदुपयोग गर्ने गरेका छौँ ।’

उपमहानगरमा भ्रष्टाचार अन्त्य गर्न तथा नागरिकलाई सुविधा दिन आफूले काम गरिरहेको उनको भनाइ थियो । औद्योगिकीकरण तथा शिक्षा र स्वास्थ्यमा विकास हुन नसक्दा सुदूरपश्चिममा गरिबी विगतको तुलनामा बढेको उनको तर्क छ । जनताको पक्षमा काम नहुँदा । जनताको अवस्था सुधार हुने योजनामा लगानी नहुँदा सुदूरपश्चिममा गरिबी घट्नुको सट्टा बढेको नगर प्रमुख हमालले बताए ।
सुदूरपश्चिम कर्णाली भन्दा पनि बढी गरिबीको अवस्थामा पुगेको उल्लेख गर्दै गरिबी निवारण गर्न शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको लगानी हुनुपर्ने उनले बताए । सरकारी अस्पतालमा स्तरीय सुविधा नहुँदा बिरामी परेपछि घरजग्गा बेचेर निजी अस्पतालमा महँगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यता रहिरहँदा सम्म गरिबी घट्न नसक्ने उनको तर्क छ । सरकारी अस्पतालमा स्तरीय र सस्तो उपचार नपाएर पनि सर्वसाधारण गरिबीको चपेटामा परेको हमालको भनाइ छ ।
औद्योगिक क्षेत्र र मेडिकल कलेज नभएको एक मात्र प्रदेश सुदूरपश्चिम रहेको उल्लेख गर्दै गरिबी बढ्नुमा व्यक्तिको आय बढाउने रोजगारीका अवसर नहुनू रहेको उनले बताए । सुदूरपश्चिममा के गर्ने भनेर संघले निर्क्योल गरिदिनुपर्ने उनले बताए । ‘पर्यटन, उद्योगधन्दा, कृषिमा के गर्ने भनेर निर्क्योल गर्नुपर्छ, अब एक प्रदेश एक उत्पादनको अवधारणामा जानुपर्छ,’ हमालले भने, ‘हामीसँग स्रोतसाधनको होइन, इच्छाशक्तिको कमी छ ।’ सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राध्यापक डा. हेमराज पन्तले मुलुकमा सङ्घीयता आए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए । रोजगारीका लागि भारत जानुपर्ने बाध्यता यहाँ अहिले पनि उस्तै रहेको उनले बताए ।
‘वनवासको पुलमा गएर हेरे हुन्छ, ८० वर्षको बुढो र बालक कामका लागि भारत जाँदै गरेको देखिन्छ । उनीहरूका बाजे पुस्ता पनि उतै जान्थे,’ डा. पन्तले भने, ‘म कैलाली क्याम्पसमा ४० वर्षदेखि पढाइरहेको छु । त्यतिबेला क्याम्पस जाँदा दाउराको भारी बोकीरहेका मान्छेहरू बाटोमा भेटिन्थे, अहिले क्याम्पस जाँदा पनि त्यही देख्छु । जनताको अवस्था उस्तै छ ।’
चैतन्य पाठशाला, चैतन्य इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलपमेन्टले आयोजना गरेको सम्मेलनमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, सुदूरपश्चिम प्रदेश सभा सदस्य डाक्टर तारा जोशी, धर्मराज पाठक, साहित्यकार रामलाल जोशी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डाक्टर हरि लम्साललगायत सामाजिक, राजनीतिकलगायत क्षेत्रका व्यक्तित्वहरू प्रमुख वक्ताका रूपमा छन् । चैतन्य ग्रुप अफ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिको यात्रामा मद्त पुर्याउन चैतन्यले हरेक वर्ष सम्मेलन आयोजना गर्दै आएको बताए ।