सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिने

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पर्सि बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।

लगतै प्रदेश सभा सचिवालयले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको प्रदेश सभा सचिव देव बहादुर बोगटीले जानकारी दिए । केन्द्रमा सत्ता समीकरण फेरिए पछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले ३० दिन भित्र विश्वासको मत लिइ सक्नु पर्छ ।

साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेश सभालाई दिनु पर्ने नियमावलीमा व्यवस्था छ । त्यस अनुसार मुख्यमन्त्री शाहले सूचना दिएका हुन्, तर उनीसँग अझै बहुमत छैन । प्रदेश सभाको सब भन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ५ सांसदलाई मन्त्री बनाएका छन् । तर सरकारलाई समर्थन गर्ने/नगर्ने बारे नाउपामा चर्को विवाद छ ।

सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् । नाउपाको समर्थनका बाबजुद शाहलाई बहुमत पुग्दैन । उनले एक सांसद भएको राप्रपा र स्वतन्त्र सांसद तारा जोशीलाई मन्त्री बनाउने प्रयास गरेका थिए । तर राप्रपाले समर्थनको निर्णय नगरे पछि जोशी पनि रोकिएका छन् । एकीकृत समाजवादीका पूर्व नेता समेत रहेका जोशीलाई एमाले–माओवादी गठबन्धनले पनि फकाइ रहेको छ । गठबन्धन सँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ ।

Loading...