व्यावसायिक च्याउ खेती बाट मनग्य आम्दानी

धनगढी– पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउ खेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएकी छन् ।

वि.सं २०७६ मा सुरु गरेको च्याउ खेतीले चौधरीलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छन् । ‘मैले सिजन अनुसार छ किसिमका च्याउको खेती गर्दै आएकी छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ,’ उनी भन्छिन् ।

चौधरीले हिउँदमा कन्या लगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकी छन् । गर्मीमा ब्लुक्याप, पिंकी च्याउ उत्पादन गर्दै आएकी उनले बर्खामा दुधेच्याउ लगाउँदै आएकी छन् । लगानीका हिसाबले तेब्बर भन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् ।

‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेकी छु,’चौधरी भन्छिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।’

उनले च्याउ खेती मात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन् । अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ ।

‘च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेकी छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक ४ देखि ५ लाख आम्दानी हुन्छ,’ चौधरीले भनिन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाउनुभएका उहाँलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

जानकी गाउँपालिका-४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् । उनले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसकेका छन् । व्यवसायबाट अहिले सम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन् । ‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब ५० लाख रुपैयाँ लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ,’ उनी भन्छन् ।

च्याउ खेतीका लागि उनले एसी प्लान्ट जोडेका छन् । जहाँ एकै पटक एक हजार भन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेती सँगै केरा, तरकारी र मकै खेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन् । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन् ।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरिन् । पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएकी थिइन् । साथीहरूबाट सिकेको ज्ञान सँगसँगै स्नातक तहको अध्ययन सकिन् भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन् ।

परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्‍यो । उनी भन्छिन्, ‘अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।’

बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनिन् । यो वर्ष १ लाख रुपैयाँ लगानी गरेको उनको च्याउ खेतीबाट ६ लाख रुपैयाँ आम्दानी भएको छ ।

‘च्याउ खेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैं सँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानी भन्दा आम्दानी तेब्बर छ,’ उनी भन्छिन् । उनको पाँच जना परिवारका पाँच जना च्याउ खेतीमा नै व्यस्त छन् । रासस

Loading...