कञ्चनपुर वन कार्यालय भित्रै चितुवाले गर्‍यो एक जना माथि आक्रमण

कञ्चनपुर- कञ्चनपुरमा वन कार्यालय भित्रै चितुवाले एक जनामाथि आक्रमण गरेको छ । डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षक तर्फ जमदार पदमा कार्यरत अर्जुन सिंह थापालाई चितुवाले आक्रमण गरेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख भीम कडेलले बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापा माथि चितुवाले आक्रमण गरेको बताउँदै उनको अवस्था समान्य रहेको जानकारी दिए । कडेलका अनुसार चितुवालाई डाट हानेर बेहोस बनाएर खोरमा हाल्ने गरिन्छ। सोमबार पनि चितुवालाई डाट हानिएको थियो। बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो । तत्कालै अर्को डाट हानेर बेहोस बनाइएको थियो।

चितुवाको आक्रमणबाट घाइते भएका थापाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। चितुवाको दह्राले उनको हातमा क्षति पुगेको छ । थापा जमदारका रुपमा गोही, सर्प जस्ता वन्यजन्तुको उद्धारको काम गर्दै आएका थिए । उनलाई आक्रमण गर्ने चितुवालाई चार दिन अघि कृष्णपुर नगरपालिका–१ को दिपेन्द्र स्मृति सामुदायिक वनमा पासोमा परेको अवस्थामा उद्धार गरिएको थियो । अहिले चितुवालाई लालझाडी वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Loading...