कञ्चनपुर- कञ्चनपुरमा एकै दिन चार जना लागूऔषध सहित पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१० सुकाशाल स्थित सडकबाट अवैध लागूऔषध (खैरो हेरोइन) १ ग्राम ६० मिलिग्राम सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ का २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका–३ का २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय रोशन चन्द र भीमदत्त नगरपालिका–१ का २६ वर्षीय प्रदिप परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।