रुसी सेनाबाट भागेर स्वदेश आइपुगे कञ्चनपुरका सिंह

बेदकोट– रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजन बहादुर सिंह घर फर्किएका छन्। रुसी सेनाबाट भागेर उनी शुक्रवार भारतको राजधानी दिल्ली हुँदै स्वदेश फर्किएका हुन्।

“पछिल्लो ३ महिनादेखि तलब पाइएन‚ खान नपाएर साह्रै गाह्रो भयो। रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे”, उनले भने, “त्यसपछि भागेर आएको।” उनी रुस–युक्रेन युद्धको अग्रमोर्चामा खटिएका थिए। उनी अरु १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भएका थिए।

Navadurga sun

परिवारको जेठो छोरो भएकाले उनी ऋण तिर्ने पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए। घर फर्किंदा उनी रित्तो हात फर्किएका छन्।

“घरमा ३० लाख रुपैयाँ ऋण थियो। बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन। स्वदेशमा पाइने २०/३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो”, उनले भने, “परिवारको बाध्यताले युद्धको भुँवरीमा हामफालेँ तर सोचेकोजस्तो भएन।”

शुरुमा रसिया सरकारले तलब दिए पनि पछिल्लो ३ महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए।

उनका अनुसार घर धितो राखेर साढे ७ लाख रुपैयाँ ऋण काढेर उनी रुस हानिएका थिए। सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनले बताए। “त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन। सँगैका सबै साथी मरे। डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ”, उनले भन्छन्, “दैनिक ५०/६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे।”

मासिक अढाई लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ। केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश फर्किएका हुन्। मस्कोमा एकजना दलाललाई २ लाख ५० हजार रुपैयाँ बुझाएर घर पुग्न सफल भएको उनी बताउँछन्।

“तीनजना भागेर मस्को पुगेका थियौँ। सँगै दिल्लीको टिकट काटिएको थियो”, सिंह भन्छन्, “तर विमानमा दिल्ली आउँदा एक्लै थिएँ। पछि बुझ्दा एकजनालाई अध्यागमनले समातेको रहेछ।” रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनी बताउँछन्। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...