गेटामा विश्व विद्यालय सञ्चालनका लागि मन्त्रीसँग बजेट विनियोजनको माग

अत्तरिया- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनका लागि बजेट विनियोजनको माग गरिएको छ । एमाले बैतडीको अधिवेशनमा सहभागी भएर काठमाण्डौँ फर्किन धनगढी पुगेका भण्डारीलाई भेटेर संघर्ष समितिले कैलालीको गेटामा भौतिक संरचना तयार भएकाले विश्व विद्यालयको ऐन पारित र सञ्चालनका लागि बजेटको व्यवस्था गर्न माग गरेको हो ।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनार्थ सङ्घर्ष समितिले मंगलवार धनगढीमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ । समितिका अध्यक्ष लोकराज पाण्डे (आगो) ले भौतिक संरचना तयारी अवस्थामा रहेकाले ६ सय शय्याको अस्पताल सहित अध्यापनको कामका लागि बजेटको व्यवस्था गर्न माग गरेका हुन् । उनले जग्गा तथा भौतिक संरचनाहरू पर्याप्त रहेकाले विश्व विद्यालय सञ्चालनका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । पाण्डेले भने, ‘एक सय शैयाको अस्पताल भनेर सञ्चालन गरिएको छ । त्यो अस्पताल नभई खाली ओपिडि सेवामा सीमित छ ।

चिकित्सकलाई घाम ताप्न ठिक्क भएको छ । न यहाँ अप्रेसन सेवा छ, न एम्बुलेन्स सेवा, न प्रस्तुति सेवानै छ । खाली नामको अस्पताल खोलिएको छ ।’ मन्त्री भण्डारीसँग सञ्चालनको कानुन प्रतिनिधि सभाबाट पारित र बजेट विनियोजनको माग गरेका हुन् । उनले मन्त्री भण्डारीसँग भने, ‘तपाई गेटा मेडिकल कलेजका लागि बजेट विनियोजनका बेला देखि विश्वविद्यालय नामाकरणसम्म प्रत्यक्ष सहभागी हुनुहुन्छ । सरकार र सदन दुवैबाट तपाइको प्रयास अथक थियो । अहिले ठिक्क तपाइनै क्याबिनेट मन्त्री बन्नुभाछ । अब मेडिकल विश्वविद्यालयको काम तीव्र अगाडी बढ्नेमा हामी ढुक्क छौँ ।’

मन्त्री भण्डारीले अर्थ राज्यमन्त्री हुँदा गेटाका लागि ठुलो मात्रामा बजेट विनियोजन गरेको बताए । उनले भने, ‘म राज्यमन्त्री थिए । त्यो बेला ठुलो बजेट परेको हो । नामाकरण समेत गरिएको हो । त्यसपछि म पद बाहिर हुँदा पनि संघर्ष समितिको आवाजलाई सदनबाट बुलन्द गरेको थिए । गत वर्ष म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएकै बेला गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निणर्य पनि गर्न सफल भयौँ । त्यस कारण म गेटा सित सधैँ जोडिएको बताए ।

उनले केही व्यक्तिले गेटामा विश्व विद्यालय नचाहेको समेत बताएका छन् । उनले भने, ‘बिचमा केही राजनीतिक व्यक्ति र जनप्रतिनिधिबाटै कस्ता वक्तव्य आए, त्यो सबैलाई थाहा नै छ । तर, म सधैँ यहाँको जनताको आवाजको पक्षमा थिए र रहनेनै छु । अहिले फेरि सरकारमा जाने अवशर मिलेको छ । म गेटाका लागी सम्पूणर् पहल गर्ने छु । सङ्घर्ष समितिले उठाएका मुद्दा सम्बोधनका लागी सम्बन्धीत मन्त्री देखि प्रधानमन्त्री र मन्त्रीपरिषद्मा यो एजेन्डा पेस गर्ने छु र सधैँ यो मुद्दा प्रति गम्भीर भएर लाग्ने कुरा बताए ।

Loading...