आगो बालेर तर्साए पनि भागेन हात्ती

कञ्चनपुर– राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै लागेको गहुँबाली खाएर नोक्सानी पुर्याउन थालेको छ।

‘विगतमा हात्ती आगो देखाएर, टिन ठटाएर र होहल्ला गरेर भाग्ने गरेको थियो’, शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भने, ‘हात्ती छिर्ने बाटोमै काठका मुढा सल्काएर आगो बालेका थियौँ, हात्ती कुनै पर्वाह नगरी खेतबारीमै छिर्यो।’ साइरन बजाएर भगाउन खोजियो, पटाका पड्काइयो तैपनि हात्ती नभागेको उनले बताए।

godawari10 Mahila hinsa
Navadurga sun

‘पेट टन्न हुनेगरी खेतबारीमा पसेर गहुँबाली खाएपछि बल्ल निकुञ्जतिर लाग्यो’, उनले भने, प्रत्येक वर्ष हात्तीले धानबाली र गहुँबाली पाक्नै लागेका बेला छिरेर नोक्सानी गर्दै आएको उनले गुनासो गरे। ‘पाक्नै लागेको गहुँबालीमा हात्तीले पसेर नोक्सानी गर्न लागेका बेला भगाउन जानैपर्छ’, स्थानीय केशरबहादुर साउदले भने, ‘गहुँबाली आफ्नै आँखा अगाडि खाएको हेर्नै सक्दैनौँ, भगाउन जाँदा हात्तीले लखेट्न आउने भएकाले मानवीय क्षति हुने सम्भावना पनि बढेर गएको छ।’ हात्ती छिर्ने ठाउँमा विद्युतीय मेसवायर लगाउन एक दशक अघिदेखि माग गर्दै आए पनि पूरा नभएको उनले बताए।

Dadeldhura hospital

तीन दिनको अवधिमै हात्तीले वडा नं ५ गर्जमुनिका भीमबहादुर साउद, केशरबहादुर साउद, जीतबहादुर साउद, सागर बोहरा, उत्तम भण्डारी, जयबहादुर साउद, विनोद कुवँर, भानदेव पन्त, लक्ष्मी पन्त, पूजा पाल, लोकेन्द्र खत्री, अर्जुन पन्त, मालती पाल र धनबहादुर साउदको गरी झण्डै चार बिघा खेतमा लगाएको गहुँबाली हात्तीले सखाप पारेको छ। किसानको न्यूनतम दुई कठ्ठादेखि १० कठ्ठासम्म जग्गाको गहुँबाली हात्तीको बथानले नोक्सानी गरेको छ ।

तीन छावासहितको १५ को सङ्ख्यामा रहेका हात्तीको बथानले गहुँबाली खानेसँगै खुट्टाले कुल्चेर नोक्सानी पुर्याउने गरेको स्थानीय बासिन्दाको भनाइ छ । रातभर हात्ती भगाउनकै लागि जाग्राम बस्नुपर्ने अवस्था रहेको मालती पालले बताए। ‘राति अबेरसम्म हात्ती भगाउनमै खटिन्छौँ’, उनले भने, ‘हात्ती नखाई भाग्दै भाग्दैनन्, घर नै भत्काउने डर पनि हुन्छ, त्यही भएर पनि जाग्राम बस्नुपर्ने अवस्था छ।’

हात्तीले बर्सेनि क्षति पुर्याउँदै आए पनि हालसम्म क्षतिपूर्तिबापतको रकम स्थानीयले नपाएको गुनासो गरे। हात्तीसँगै चितल, निलगाई र बँदेलले किसानका खेतमा पुगेर गहुँलगायतका बालीमा नोक्सानी गर्ने गरेको छ। खेतमा लगाएको अन्नबाली जङ्गली जनावरले खाएर नोक्सानी गर्न थालेपछि परिवारको वर्षभरिको भरणपोषणका लागि अन्न खरिद गर्न गर्जमुनि गाउँका अधिकांश बासिन्दाले रोजगारीका लागि भारततर्फ लाग्नुपर्ने अवस्था सिर्जना भएको छ।

वडाध्यक्ष चक्रबहादुर खड्काले वडा कार्यालयमा जङ्गली जनावरले खेतमा लगाएको बालीनाली नोक्सानी पुर्याएकाले क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि ३० जना बढी किसानले निवेदन दिएको बताए। जङ्गली जनावरले क्षति पुर्याएकोबारे सिफारिस गरिँदै आए पनि वन्यजन्तुले बालीनालीमा पुर्याउने क्षति न्यूनीकरण गर्ने भरपर्दो उपायबारे निकुञ्ज कार्यालय, नगरपालिका र प्रदेशमा पत्राचार गरे पनि अहिलेसम्म ठोसरूपमा कुनै कार्य अगाडि बढ्न नसकेको उनले बताए।

निकुञ्जबाट आउने हात्तीले गर्जमुनिमात्रै नभएर वडा नं ६, ७, २ र ३ मा पनि बर्सेनि बालीनाली भित्र्याउने बेला नोक्सानी पुर्याउँदै आएको छ। तीन वर्षको अवधिमा नगरपालिका क्षेत्रका चार जनाले हात्तीको आक्रमणमा परेर ज्यान गुमाइसकेका छन्।
रासस

Loading...