चौथो संस्करणको गौरीगंगा गोल्डकप सुरु, कानुनमन्त्री भट्टले गरे उद्घाटन

अत्तरिया- कैलालीको गौरीगंगामा चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० सुरु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित खेल मैदानमा चौथो संस्करणको गौरीगंगा गोल्डकप सुरु भएको हो । प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले उद्घाटन गरेका हुन् ।

आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पमुख अतिथिको रुपमा बोल्दै कानुन मन्त्री भट्टले खेलकुद प्रदेश र स्वास्थ्यका लागि अपरिहार्य रहेकोले यसको विकास गर्नु पर्नमा जोड दिए । उनले खेलकुद क्षेत्रलाई उकास्नका लागि प्रदेश सरकार पनि लागिपरेको बताए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम र सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक वहादुर सिंह विशिष्ठ अतिथि रहेको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए । यस अघि फागुन १९ गते देखि २८ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता प्रतिकुल मौसमका कारणले तीन दिन पछि सारिएको हो । प्रतियोगिता अब चैत १ गते सम्म आयोजना हुने छ ।

कैलालीको गौरीगंगामा २०७४ साल देखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ । यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५-१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।

प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम-११ स्पोर्टस क्लबले प्रतिस्प्र्धा गरेका छन् । खराब मौसमका कारणले दुबै टोली बीचको खेल स्थगित गरिएको छ । पहिलो हाफ बराबरी खेलेका टोली बीचको दोस्रो हाफको आधा खेल साँझ परेपछि स्थगित गरिएको हो । बाँकी समयको खेल भोली (बुधबार) विहान ११ बजे खेलाईने भएको छ । प्रतियोगिता अन्तर्गत भोली (बुधबार) हुने अर्को खेलमा विएस १५ र स्टार सिटी ब्वाईज युनियन बीच प्रतिस्पर्धा हुनेछ ।

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगत देखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ ।

Loading...