धनगढी- कैलालीको गौरीगंगामा हुने भनिएको चौथो संस्करणको गौरीगंगा गोल्डकप स्थगित भएको छ । प्रतिकूल मौसमका कारण उद्घाटनको तयारीमा रहँदा पनि गोल्डकप स्थगित गरिएको हो । वर्षा भए पछि उद्घाटन समारोह सहित प्रतियोगिता तीन दिन पछि सारिएको छ ।
यस अघि फागुन १९ गते देखि २८ गते सम्म आयोजना हुने भनिएको प्रतियोगिता अब भने फागनु २२ गते देखि चैत १ गते सम्म आयोजना गरिने आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले बताए । यस अघि प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले गर्ने तय भएको थियो ।
प्रतियोगिता तीन दिन पछाडी सरे पनि खेल तालिका भने यथावत राखिएको छ । यस अघि सार्वजनिक गरिएको खेल तालिका अनुसार नै खेलहरू आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम-११ स्पोर्टस क्लबका बीचमा हुने छ । गौरीगंगाको लिक्मा खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।
कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ । यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५-१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।
कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रङ्गशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पूर्वाधार निर्माणका लागि दबाब दिन विगत देखि गोल्डकप आयोजना गर्दै आएको बताए ।