धनगढी- सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ । शनिबार बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको हो । दोश्रो अधिवेशनको १० औँ बैठक शनिबार दिउँसो २ बजे बोलाइएको थियो । कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो ।
समितिको निर्देशनमा सो बैठक अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्र बहादुर पालले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सभामा सुदूरपश्चिम निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा र सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को मस्यौदा विचाराधीन अवस्थामा छन् ।