बास्कोटामा नव निर्मित खानेपानी ट्याङ्की हस्तान्तरण

अत्तरिया- गोदावरी नगरपालिका वडा नम्बर ४ को बास्कोटामा नव निर्मित खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । शनीबार एक कार्यक्रमका बिच खानेपानी डिभीजन कार्यालय धनगढीका निमित्त प्रमुख गणेश प्रसाद उपाध्यायले बिधिवत रुपमा बास्कोटा खानेपानी तथा सरसफाई उपभोत्ता समितिलाई ट्याङ्की हस्तान्तरण गरेको हो ।

ट्याङ्कीको शनिबार सुदूरपश्चिम प्रदेश भौतिक विकास मन्त्री प्रकाश देउवाले उद्घाटन पनि गरेका छन् । करिब ७ करोड लागतमा ट्याङ्की निर्माण गरिएको हो ।

बास्कोटा खानेपानी तथा सरसफाइका अध्यक्ष हेम प्रकास मल्लको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री माननिय प्रकाश बहादुर देउवा रहेका थिए ।

प्रमुख अतिथि देउवाले धारा खोलेर खानेपानीको उद्घाटन गर्नु हुँदै कोही पनि नागरिक स्वच्छ पिउने पानीबाट वञ्चित हुन नहुने बताए । ‘नेपालको संविधानमा स्वच्छ वातावरण, खानेपानी तथा सरसफाइ सेवालाई मौलिक हकका रुपमा स्थापित गरेको छ । यसलाई प्रदेशका सबै नागरिकको खानेपानी पहुँच सहित गुणस्तरीय खानेपानी पुर्‍याउने प्रदेश सरकारको लक्ष्य रहेको छ । त्यसका लागि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय निरन्तर खानेपानी आयोजनाको विकास तथा विस्तार गरि रहेको छ’ उनले भने ।

भौतिक मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको ०८०।०८१ को नीति तथा कार्यक्रममा सबैलाई आधारभूत स्तरको खानेपानी सेवामा पहुँच सुनिश्चित गर्न एक घर एक धारा कार्यक्रम रहेको स्मरण समेत गराएका थिए । भूमिगत जल सतह तथा पानीका सतही श्रोतहरू घट्दै गइरहेको क्षेत्र, खानेपानी सेवाबाट वञ्चित तथा विपन्न बस्तीहरूमा खानेपानी आपूर्तिको विशेष व्यवस्था गर्ने नीति प्रदेश सरकारको रहेको उनले बताए ।

‘संघिय, प्रदेश र स्थानीय तहको समन्वयमा तथा सहकार्यमा खानेपानी, सरसफाइ तथा स्वच्छता गुरुयोजना तयार गरी कार्यान्वयन गरिने, मध्यम तथा उच्चस्तरको खानेपानी सेवाको स्तर बृद्धि गर्न समुदायमा आधारित खानेपानी आयोजनालाई प्राथमिकता साथ अगाडि बढाई रहेको छ’ उनले भने, ‘सामुदायिक विद्यालय एवम् स्वास्थ्य संस्थालाई विशेष प्राथमिकता दिई यसै आर्थिक वर्ष भित्र गुणस्तरीय खानेपानीका लागि फिल्टर सहितको खानेपानी व्यवस्था गरि रहेको छ, भने समुदायमा खानेपानीको गुणस्तर सुधार कार्यक्रम सञ्चालन गर्न बजेटमा व्यवस्था गरेको छ ।’

बिशिष्ट अतिथिहरुमा माननिय प्रकाश बम, माननिय तुक्ष्मी देवकोटा, माननिय खेमा देबि बिष्ट, नगर प्रमुख बिरेन्द्र भट्ट, नगर उप प्रमुख शारदा देवी रोकाया, पुर्व प्रदेश सामाजिक मंत्री कृष्ण राज सुबेदी, गोदावरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता गोपाल दत्त भट्ट, अत्तरिया खानेपानीका टिका दत्त जोशी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आकर्षक नृत्यहरु प्रस्तुत गरिएका थिए । उत्कृष्ट ब्यक्तिहरुलाई सम्मान पत्र तथा मायाको चिनो द्वारा सम्मानित गरिएको थियो । बास्कोटा बाट चौधरी समुदायको सखिया नाच र बडेहाको राना थारु समुदायको नाच प्रदर्शन गरिएको थियो । २०७३ सालमा स्थापना भएको यस खानेपानी सँस्था मा ७५६ जना उपभोक्ताहरु रहेका छन ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढी कैलाली र बसकोटा खानेपानी उपभोक्ता समिति बिच उक्त आयोजना निर्माण गर्न आर्थिक वर्ष ०७३।०७४ मै सम्झौता भएको थियो ।०७९।०८० सम्ममा सक्ने गरि ५ करोड ६१ लख ११ हजार २०० रुपैयाँ लागत अनुमान गरिएको यस योजनामा ४ करोड ९४ लाख १३ हजार ६९ रुपैयाँ खर्च भएको छ ।

४ करोड ६४ लाख १३ हजार ६९ सरकारले लगानी गरेको छ भने ३० लाख जनश्रमदान गरिएको छ । यस आयोजनाबाट १ हजार ३५९ घरधुरीका ८ हजार १२० जना लाभान्वित हुने बताइएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य माओवादी केन्द्रका मनोहर कुवरले प्रस्तुत गरेको कार्यक्रमको संचालन डण्डिराज जोशीले गरेका थिए ।

Loading...