धनगढी- नेपाल क्रिकेट सङ्घ (क्यान) ले चार समितिको संयोजक मनोनयन गर्ने निणर्य गरेको छ । क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजक तोकेको छ ।
केन्द्रीय सदस्य घले तीन दशकदेखि क्रिकेटमा सक्रिय छन् । सन् २००५ मा नेपालमा आयोजना भएको एसिसी यू-१९ प्रतियोगिताको संयोजक भएका घलेले त्यसयता विभिन्न प्रतियोगितामा नेपाली टिम र प्रतियोगिताको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए ।
क्यानले पूर्व खेलाडी तथा क्यान केन्द्रीय सदस्य धिरेन्द्र सावद विकास समितिको संयोजक तोकेको छ । धिरेन्द्रले सुवास शाही सँग मिलेर १२ धनगढी क्रिकेट एकेडेमी स्थापना गरेका थिए । हालको केन्द्रीय समितिमा उनी लोकप्रिय मतका साथ विजयी भएका थिए ।
यस्तै केन्द्रीय सदस्य विक्रम विष्टलाई प्राविधिक समितिको संयोजक तोकेको छ । कैलालीका विष्ट लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय छन् । महिला क्रिकेट विकास समितिको संयोजकमा दाङका प्रदिप मजगैया बनाउने निणर्य भएको छ । केन्द्रीय सदस्य मजगैयामा अहिले दाङ क्रिकेट लिग-२ सञ्चालन गर्ने तयारीमा छन् ।