कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा-कञ्चनपुर टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ ।
शनिबार फाइनल खेलमा दोधारा-चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो । उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले नगद एक लाख एक हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरे । त्यसैगरी उपविजेता दोधारा-चादँनीको टिम ५१ हजार, ट्रफी र प्रमाणपत्र सहित पुरस्कत भएको आयोजक कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र बहादुर चन्दले बताए ।
प्रतियोगिताको फाइनल खेलमा १९ दशमलव पाँच ओभरको समाप्तिमा शुक्लाफाँटाले सबै विकेट गुमाउँदै एक सय २४ रनको लक्ष्य दोधारा-चाँदनीसामु प्रस्तुत गरेको थियो । शुक्लाफाँटाका लागि विशाल ऐरले २४ बलमा २९ रन र कैलाश ऐरले २८ बलमा २८ रन बनाएका थिए भने टिमका लागि प्रकाश थापाले तीन विकट लिएका थिए ।
एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको दोधारा-चाँदनीले १९ दशमलव चार ओभरमा एक सय २४ रन बनाएपछि खेल ड्र भएको थियो । त्यसपछिको सुपरओभरमा शुक्लाफाँटाले जित निकालेको आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा भीमदत्त नगरपालिकाका मिलन बोहरा घोषित भएका छन् । नौ पालिकामध्ये लालझाँडी र बेलौरी नगरपालिका भने प्रतियोगितामा सहभागी थिएनन् । प्रतियोगिताको समापन समारोहमा क्रिकेटका योगदान पुगाएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ ।